नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट अभिभावक गुमाएका आठ जना बालबालिकालाई १२ कक्षासम्मको पठन पाठनको व्यवस्था गर्ने जिम्मा आफूले लिने घोषणा गरेका छन्।
जिल्लामा पहिरोबाट अभिभावक गुमाएर टुहुरो भएका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ, छिरिङ गोले र नाम नखुलेको साङबहादुर दोङकी छोरीको पठनपाठनको व्यवस्था गर्ने उनले बुधबार जानकारी दिए।
सबै बालबालिकालाई यसै शैक्षिक शत्रबाट काठमाडौं उपत्यकाभित्र रहेका स्कुलको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने भएकोले यथाशीघ्र सम्पर्कमा आउन वा ल्याउन सम्बन्धित व्यक्ति वा उनीहरुका आफन्तलाई पूर्व मन्त्री बस्नेतले आग्रह गरेका छन्।
अविरल वर्षाका कारण यस वर्ष पनि मुलुकभर ठूलो जनधनको क्षति भएको छ। यस वर्ष सिल्धुपाल्चोकमा गत असार २५ गते देखि साउन ३० गते सम्म ८० जना बेपत्ता भएका छन्, ४८ भन्दा बढीको शव फेला परेको छ। सयौं परिवार घरबार बिहिन भएका छन् भने कतिपय बालबालिकाहरु परिवार गुमाई टुहुरासमेत भएका छन्।
गत साउन ३० गते जुगल गाँउपालिका–२ स्थित लिदी गाँउमा आएको पहिरोमा ३९ व्यक्ति बेपत्ता भएकोमा हालसम्म ३२ जनाको शव प्राप्त भएको छ। सो पहिरोबाट स्मारिका, सविता, दुर्गा, कविता, अनिता, कान्छी, नाम नखुलेको साङबहादुर दोङकी छोरी गरी सात जनाले अभिभावक गुमाएका थिए। त्यस्तै गत असार २५ गते जम्बुको बाढी पहिरोमा छिरिङ गोले आफ्नो पाँच जनाको परिवार गुमाएर एक्लै बाँचेका थिए। रासस

प्रतिक्रिया