ad ad

राजनीति


सामाजिक सञ्जालमा चर्को आवाज : राष्ट्रपति, प्रधानमन्त्री दोहोरिँदा कुलमान किन नदोहोरिने?

सामाजिक सञ्जालमा चर्को आवाज : राष्ट्रपति, प्रधानमन्त्री दोहोरिँदा कुलमान किन नदोहोरिने?

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १२:३१,

कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नुपर्ने आवाज तीव्र रुपमा उठेको छ।

यही महिना चार वर्षे कार्यकाल सकिन लागेका कुलमानलाई पुनः दोहोर्याउनुपर्ने आवाज राजनीतिकर्मी, कानुन व्यवसायिक, व्यवसायी, कलाकार, सामाजिक क्षेत्रका अगुवाहरुले उठाएका छन्।

कुलमानको नेतृत्वमा नेपाल लोडसेडिङ मुक्त भएको भन्दै अधिकांशले उनको प्रशंशा गरेका छन। घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

निर्देशकमा नियुक्त भएपछि हिउँदमा १८ घण्टासम्म लोडसेडिङ भोगिरहेको नेपाललाई लोडसेडिङ मुक्त बनाउन उनको व्यवस्थापकीय भूमिकाको चौतर्फी प्रशंशा भएको छ।

कानुनविद विपिन अधिकारी ट्विटरमा ‘कुलमान घिसिङको क्षमता र चरित्र दुःखका दिनमा मुलुकले देखिसकेको’ भन्दै पुनः ट्रायल एण्ड एररमा नगएर पुनर्नियुक्ति गर्नु पर्ने बताएका छन्। 

Kulman2

गायक अमृत गुरुङले अबका चार वर्ष कुलमानलाई थप काम गर्न दिन आग्रह गरेका छन्।

यस्तै लेखक बुद्धिसागरले कोरोनाका कारण लकडाउन भएकाले त्यसमाथि लोडसेडिङ थपिए सहन नसकिने प्रतिक्रिया दिएका छन। उनी लेख्छन, ‘लकडाउनमा बाह्रचौध घन्टाको लोडसेडिङको कल्पनाले पनि रिङगटा चलेर आउँछ। चाहिने कुलमान नै हो। चाहिएको पनि कुलमान नै हो।’

राजनीतिक विश्लेषक टीका ढकालले प्राधिकरण यसबेला ‘टेक अर पे’ को स्थितिमा रहेकाले कुलमानको नियुक्तिलाई इगो नबनाई कार्यकाल थप्न माग गरेका छन्।

गायक प्रमोद खरेलले व्यक्तिभन्दा विधि ठूलो भएपनि नयाँ आउने व्यक्तिले अर्को कुलमान घिसिङ बन्न सक्नुपर्ने बताएका छन्। नत्र जनतालाई धोका हुने उनको भनाई छ।

उनले ट्विटरमा लेखेका छन, ‘एक सच्चा सपुत कुलमान घिसिङलाई मिल्छ भने पुनः नियुक्ति गर्दा हुन्छ। थाहा छ व्यक्तिभन्दा बिधि ठूलो हो। हो भने नयाँ आउनेले कमसेकम देश र जनताका लागि अर्को कुलमान बन्न सक्नुपर्छ। नत्र खबरदार, जनतालाइ धोका हुनेछ। राज्यले पनि कुलमान मात्र हैन कुलमान संस्कार बनाउन र बचाउन सक्नु पर्छ।’

यस्तै सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले आफूले पाएको जिम्मेवारी पूरा गर्दा मानिसहरुले माया गर्छन् भन्ने उदाहरण कुलमान घिसिङ भएको उल्लेख गरेका छन। 

नायिका केकी अधिकारीले ट्विटमा यसरी कुलमानको प्रशंशा गरेकी छिन्, ‘निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल। यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार। न दम्भ, न अहंकार। शालिन, सौम्य र सरल। अर्थात कुलमान घिसिङ।’ 

यस्तै नायिका करिश्मा मानन्धरले पनि फेसबुकमा कुलमानसँगको फोटो सार्वजनिक गर्दै लेखेकी छन्, ‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुन्छन्। कुलमान घिसिङ फेरि चाहिन्छ।’

गायक शिव परियारले पनि कुलमानलाई दोहोर्याउँदै उज्यालो प्रेमी जनताको भावनालाई सरकारले सम्मान गर्ने उल्लेख गरेका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘म व्यक्तिगत रुपमा कुलमान घिसिङ्ले पुनः एकपटक विद्युत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोडदार माग गर्दछु। अहिले मात्र हैन सधैँभरि देशलाई उज्यालो चाहिएको छ। अब, नेपाल सरकारको निर्णय कुरेको छु, हेरौँ। आशा छ, उज्यालोप्रेमी हामी जस्ता तमाम नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .