राजनीति


‘निषेधाज्ञा थप नभए एक साताभित्रै नेकपा सचिवालय र स्थायी समितिको बैठक’

‘निषेधाज्ञा थप नभए एक साताभित्रै नेकपा सचिवालय र स्थायी समितिको बैठक’

सागर न्यौपाने
भदौ ८, २०७७ सोमबार १३:१०,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकहप्ताभित्रै सचिवालय र स्थायी समितिको बैठक डाक्ने भएको छ। वैशाखदेखि पार्टीभित्र जारी विवाद समाधानउन्मुख भएपछि रोकिएको स्थायी कमिटीको बैठक पुनः डाकिन लागेको हो।

मंगलबार अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ। सोमबार गर्ने भनिएको छलफल प्रधानमन्त्री ओली व्यस्त भएपछि स्थगित भएको थियो।

पार्टीभित्रको विवाद समाधान गर्न गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिनको लागि ओली र प्रचण्ड छलफलमा जुट्न लागेका हुन्।

सोही भेटमा सचिवालय र स्थायी समितिको बैठक बोलाउने विषयमा छलफल हुने नेताहरुले जनाएका छन्।

विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले शनिबार प्रतिवेदन बुझाएसँगै ५ महिनादेखि जारी नेकपाभित्रको अन्तसंघर्ष पनि अन्त्य भएको र रोकिएका बैठकहरु धमाधम बस्ने महासचिव विष्णु पौडेलले जानकारी दिए।

‘पार्टीभित्रको विवाद समाधान भयो,’ पौडेलले नेपालखबरसँग भने, ‘विवादकै कारण रोकिएका पार्टी कमिटीका बैठकहरु अब फटाफट बस्छन्। सचिवालय, स्थायी समिति पनि बस्छ। कोभिडको कारणले केही प्रभाव प¥यो भने अलग कुरा हो, नत्र चाँडै बैठक बस्छ।’

प्रधानमन्त्री ओली र प्रचण्डनिकट स्रोतका अनुसार एक हप्ताभित्र सचिवालय र स्थायी समितिको बैठक राख्ने तयारी छ।

असार १८ गतेदेखि रोकिएको बैठक नियमित एजेन्डामा छलफल गर्नेगरी बस्न लागेको नेताहरुले जनाएका छन्।

‘कोरोनाको कारण परिस्थिति प्रतिकूल नभए एक हप्ताभित्र स्थायी समितिको बैठक बस्न सक्नेछ,’ स्रोतले भन्यो, ‘बैठक रोकिएका कारण पार्टीका गतिविधि ठप्प छन्, यसलाई लामो समय राख्नु हुँदैन भन्ने छ।’

उपत्यकामा रहेका जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा थप नगरे नेकपाले भदौ १५ भित्रै स्थायी समिति बैठक राख्ने तयारी गरेको हो।

गएको बिहीबारदेखि उपत्यकामा लागू गरिएको निषेधाज्ञा भदौ १० गते सकिँदै छ।

कार्यदलले बुझाएको प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले परिमार्जन गरिरहेका छन्। मंगलबार दुई अध्यक्षबीच कार्यदलको प्रतिवेदनलाई परिमार्जन गर्न छलफल हुँदैछ।

‘प्रतिवेदनमाथि दुई अध्यक्षको छलफल भएपछि प्रस्ताव तय हुन्छ अनि सचिवालय बैठक डाकिन्छ,’ ओलीनिकट एक नेताले भने, ‘सचिवालय बैठक तुरुन्तै बस्छ, भोलितिरै पनि बस्नसक्छ।’

प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालन गर्न नसकेको भन्दै दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि असार १८ गतेपछि स्थायी समिति बैठक बस्न सकेको छैन।

बैठकका लागि तय गरिएका ७ वटा एजेन्डामध्ये नेपालको सीमाका बारेमा मात्र सबै स्थायी समितिका सदस्यहरुले धारणा राखेका थिए।

त्यसबाहेक सरकार र पार्टी सञ्चालनको समीक्षा, कोरोना संक्रमणको जोखिम र नियन्त्रण, अमेरिकी आर्थिक सहयोग समेटिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायतका विषयमा छलफल नै भएको छैन।

अब बस्ने बैठकमा यी सबै विषयमा छलफल गरेर निर्णय गर्न लागिएको हो।

यद्यपि काठमाडौंमा कोरोनाको संक्रमण बढ्दै गए के गर्ने भन्ने विषयमा ओली–प्रचण्डले छलफल गरेर निर्णय गर्ने बताइएको छ।

कार्यदलले नेताहरुको जिम्मेवारी पनि प्रष्ट पार्न सुझाव दिएको छ। ओलीले पाँचैवर्ष सरकारको नेतृत्व गर्ने भएकाले केही मन्त्रीहरु परिवर्तन गर्ने तयारी पनि छ। अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल भदौ २० गतेदेखि सकिँदै छ।

त्यसअघि नै मन्त्रीमण्डल पुनर्गठनको तयारी भइरहेको स्रोतले जनायो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad