नेकपामा विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले ढिलोमा शुक्रबारसम्म प्रतिवेदन बुझाउने गरी काम थालेको छ।
गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सम्मिलित कार्यदल गठन गरिएको थियो।
कार्यदलका एक सदस्यका अनुसार अब तीन दिनभित्रै प्रतिवेदन बुझाउनेगरी उनीहरु काममा खटिएका छन्।
शुक्रबार दुई अध्यक्षद्वारा गठित कार्यदलको शनिबार नै पहिलो बैठक बसेको थियो। तर, वरिष्ठ नेताहरुले नै त्यसलाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने बताएका थिए।
वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनको विषय पार्टी कमिटीबाट अनुमोदन गर्नुपर्ने माग गरेपछि कार्यदलले आइतबार र सोमबार काम गर्न सकेको थिएन।
सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेपछि मंगलबारदेखि उनीहरु काममा जुटेका हुन्।
‘पार्टीभित्र वैधानिकताको कुरा उठेपछि कार्यदलले बल्ल आज (मंगलबार)देखि काम अघि बढाएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘तीन दिनभित्र प्रतिवेदन बुझाउनेगरी काम भइरहेको छ।’
मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा कार्यदलको बैठक बसेको थियो।
शुक्रबार गठन गरिएको कार्यदलले पहिलो बैठक शनिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको निवास भैँसेपाटीमा बैठक राखेको थियो।
पार्टीसँग असम्बन्धित व्यक्तिको घरमा बैठक बसेको भन्दै आलोचना भएपछि कार्यदलले मंगलबारको बैठक भने पार्टी कार्यालयमा राखेको हो।
कार्यदल गठन भएको एक हप्तामै प्रतिवेदन बुझाउने योजनाका साथ कार्यदलले कामलाई तीव्रता दिएको छ।
‘कार्यदलले ढिलोमा शुक्रबारसम्म लिखित प्रतिवेदन बुझाउँछ,’ कार्यदलका ती सदस्यले भने, ‘आफ्नो तर्फबाट प्रतिवेदनलाई अन्तिम रुप दिनासाथ दुई अध्यक्षलाई बुझाउनेछौं।’
कार्यदलले प्रतिवेदन बुझाएलगत्तै ओली र प्रचण्डबीच शनिबार छलफल हुने सम्भावना रहेको उनको भनाइ छ।
‘हामीले प्रतिवेदन शुक्रबार नै हस्तान्तरण गर्न सक्यौं भने शनिबार दुई अध्यक्षबीच त्यसमाथि छलफल हुनेछ र त्यसपछि सचिवालय बैठक डाकिन सक्छ,’ उनले भने।
मन्त्रिमण्डल पुनर्गठन, महाधिवेशन कार्यतालिका र मुख्यमन्त्री फेरबदलको प्रस्ताव आउने
कार्यदलले स्थायी समितिको बैठकमा उठेका एजेन्डासहित मन्त्रिमण्डल पुनर्गठन, प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री फेरबदल गर्न सुझाव दिने स्रोतले बतायो।
यस्तै, गएको माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय समितिको बैठकले तय गरेको चैत २५ देखि ३० सम्मको महाधिवेशन कार्यतालिकालाई उपयुक्त भनेर सिफारिस गर्ने पनि बताइएको छ।
‘पार्टीभित्रको सन्तुलन मिलाउन केन्द्रका केही मन्त्री तथा १ र बागमती प्रदेशको मुख्यमन्त्री फेर्न सुझाव दिन्छ,’ स्रोतले भन्यो, ‘त्यसबाहेक महाधिवेशनको कार्यतालिका बनाइदिन सक्छ। प्रधानमन्त्रीकै जोडबलमा गठन भएको कार्यदल भएकोले उहाँलाई समस्या हुनेगरी नयाँ कुरा आउने सम्भावना कम छ।’
नेकपामा एक नेता एक जिम्मेवारी, सरकार र पार्टी सञ्चालनको समीक्षा, विधि प्रक्रिया, पार्टीले सरकार सञ्चालन गर्नुपर्ने लगायतका विषय उठेको छ। यी सबै विषयलाई सूत्रबद्ध गर्दै समग्र पार्टीभित्रको विवाद समाधान गर्न कार्यदलले सुझाव पनि दिनेछ।
ओली र प्रचण्डबीच संवादहीनताको अन्त्य गर्दै बिहीबार र शुक्रबार भएको छलफलमा कार्यदल गठनको सहमति भएको थियो
कार्यदल गठन गरेर विवाद समाधानको प्रस्ताव प्रधानमन्त्री ओलीले नै प्रचण्डसँग राखेका थिए।
‘पार्टीमा धेरै समय विवाद जस्तो देखियो, विवाद समाधानको सुझाव दिन एक कार्यदल गठन गरौं,’ ओलीले बिहीबारको बैठकमा प्रचण्डलाई भने, ‘तपाईंका पनि नेताहरु राखौं, त्यसले दिएका सुझाव कार्यान्वयन गर्न म तयार छु।’
ओलीको प्रस्ताव आफूले स्वीकार गरेको प्रचण्डले निकट नेताहरुलाई ब्रिफिङ गरेका थिए।
‘ओलीजीले नै कार्यदल बनाउन प्रस्ताव गरेपछि मैले पनि सहमति जनाएँ,’ प्रचण्डले नेताहरुसँग भने।

प्रतिक्रिया