राजनीति


कोरोना र आर्थिक संकटबीच तालमेल मिलाएर सबै क्षेत्र खुला हुन्छः गृहमन्त्री थापा (भिडियाे)

कोरोना र आर्थिक संकटबीच तालमेल मिलाएर सबै क्षेत्र खुला हुन्छः गृहमन्त्री थापा (भिडियाे)

नेपालखबर
साउन ३२, २०७७ आइतबार १०:११,

गृहमन्त्री रामबहादुर थापाले पुनः लकडाउन गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पारेका छन्।

लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको गृहमन्त्री थापाले बताए। संक्रमण बढिरहेकोले सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताए।

उनले भने, ‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान गर्नुपर्ने भएको हुनाले यसमा तालमेल मिलाएर हामीले गरिराखेका छौं र स्वास्थ्यका मापदण्डहरु अपनाएर उद्योग व्यवसायहरु पनि हामीले सञ्चालन गर्नुपर्ने छ। अरु सुरक्षाका मापदण्ड अपनाएर बन्दाबन्दीलाई पनि निरन्तरता दिनुपर्ने छ। यी दुईवटै कुराहरुलाई हामीले अगाडि बढाइराखेका छौं।’

उनले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई अपील समेत गरे। सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवस्यक रहेको बताए।

गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताए।

उनले भने, ‘कोरोनाको सन्दर्भमा नागरिकहरुले पनि बन्दाबन्दिका नियमहरुलाई पालन गर्दिनहुन म अनुरोध गर्न चाहन्छु। किनभने सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न नागरिकहरुको सहभागिता र उनीहरुको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं। म सबै आदरणीय दाजुभाई दिदी बहिनिहरुलाई कोरोनाको संक्रमणको अवस्थामा सुरक्षाका नियमहरुलाई पालन गरिदिनुहुन अनुरोध गर्दछु।’

सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोकेपनि अझैपनि लुकिछिपि आउने काम भइरोखको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको बताए। अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको गृहमन्त्री थापाले बताए।

उनले भने, ‘अब हामीले यो खुल्ला नाकाहरुलाई नियन्त्रण गर्नको निमित्त अहिले १२ सय भन्दा बढी बोर्डर आउटपोस्टहरु स्थापना गरिएको छ। त्यसले धेरै हदसम्म नियन्त्रण गरेको छ। त्यहि पनि लुकिछिपि आउने केही मात्रामा भइपनि राखेको छ। यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ। हिजोको जुन अवस्था थियो त्यो चाहिं अहिले छैन।’

अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको थापाले बताए। कोरोनाको लागि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशिल रहेको र बाढी पहिरोको लागि विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले बताए।

उनले भने, ‘अहिले दुईवटै संकट आएको हुनाले जटिलता त पैदा भएको छ। हामीले दुवै समस्यालाई समाधान गर्न प्रयत्न गरिराखेका छौं। कोरोनाको निम्ति विशेष सीसीएमसीको माध्यमबाट रोकथामको निम्ति हामी क्रियाशिल छौं। विपदको निम्ति विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति छ। तीन तहमा नै त्यो माध्यमबाट यसको नियन्त्रण र उद्धारको काम गरिराखेका छौं।’ 

यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्व तयारी गरेको समेत गृहमन्त्री थापाले बताए। विपदको समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको थापाले बताए।

बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा तयारी गरिएको पनि उनले बताए। हरेक वर्ष पूर्व तयारी गरिएपनि उद्धारका लागि साधन र सामग्रीहरुको समस्या रहेको बताए।

‘पूर्व तयारी हामीले हरेक वर्ष गरिराखेका छौं त्यहिपनि त्यो प्रयाप्त छैन। केही समस्याहरु छन्। विशेष गरेर पूर्व तयारीमा आवश्यक साधन र सामग्रीहरुको समस्या छ। विशेष गरेर ठूला हेभि इक्युपमेन्टहरु जो उद्धारको निम्ति आवस्यक हुन्छ त्यसको हामीलाई समस्याहरु छन्। कतिपय समस्याहरु तालमेलका समस्याहरु पनि छन्। विपदको सामना गृह मन्त्रालयले मात्रै नगर्ने भएर यसका सरोकारवाला निकायहरुपनि छन्। ती सबै मिलेर गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा तालमेलहरु नमिल्दापनि समस्या उत्पन्न हुने गरेको छ। हामीले समयमा नै यसको उद्धार कार्यमा केही जटिलताहरु पैदा हुने गरेको छ। त्यहिपनि यसलाई सकेसम्म न्यून गर्न हाम्रो प्रयत्न जारी छ।’

गृहमन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालय अन्तर्गत रहेको रकमबाट उद्धार र पुनस्थापनाका लागि निकासी गरी काम भइरोखेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad