चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले प्राप्त गरेको सफलताको आधार मार्क्सवादी राजनीतिक अर्थव्यवस्था भएको बताएका छन्।
उनले देशको मार्क्सवादी राजनीतिक अर्थव्यवस्था कुनै हालतमा परिवर्तन नहुने स्पष्ट पार्दै चीनले पुँजीवादी व्यवस्थाको नक्कल गर्न नहुने बताएका छन्।
‘चीनको राजनीतिक अर्थव्यवस्थाको आधार मार्क्सवादी राजनीतिक अर्थव्यवस्था मात्र बन्न सक्छ, अरु कुनै आर्थिक सिद्धान्तमा आधारित हुन सक्दैन,’ द्वैमासिक जर्नल चुसीमा शनिबार प्रकाशित सीको लेखमा भनिएको छ।
चीनको आर्थिक मोडेल नै चिनियाँ विशेषतासहितको समाजवादको आधारस्तम्भ भएको उनले बताएका छन्। जसले आर्थिक विकासलाई निर्देशित गर्नुका साथै कम्युनिस्ट पार्टीको शासनलाई सुनिश्चित गरेको पनि उनको भनाइ छ।
चीनको मार्क्सवादी राजनीतिक अर्थव्यवस्था पुरानो भएको भन्ने आरोपलाई खारेज गर्दै सीले सोही अर्थव्यवस्थाले स्रोत जुटाउने मामिलामा बजारलाई निर्णायक भूमिका खेल्न दिनुका साथै सरकारको भूमिकालाई पनि बढाएको बताएका छन्।
‘सार्वजनिक स्वामित्वको प्रधानता र अर्थतन्त्रमा राज्यको नेतृत्वलाई हल्लाउन सकिन्न,’ सीले लेखेका छन्, ‘चीनले पश्चिमा विचारधारा वा पुँजीवादी प्रणालीको नक्कल गर्न खोज्नु हुँदैन। धेरै पुँजीवादी मुलुकहरुले आर्थिक मन्दी, बेरोजगारी, बढ्दो ध्रुवीकरण, गहिरिँदो सामाजिक द्वन्द्वजस्ता समस्या खेपिरहेका छन्।’
पछिल्लो समय अमेरिकासँग व्यापार, प्रविधि, विचारलगायतका विषयमा जारी संघर्षका क्रममा सीको यस्तो विचार सार्वजनिक भएको हो। एससीएमपी

प्रतिक्रिया