संसद सचिवालयले आइतबार नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीलाई वितरण गरेको छ।
संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरेर सो वितरण प्रक्रियाको सुरुवात गरेका हुन्।
संसद सचिवालयका अनुसार सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आजैदेखि नयाँ लोगो लगाउन सुरु गरेका छन्।
गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो।
कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको संसद सचिवालयले जनाएको छ।
दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ।

लोगो वितरणका बेला सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संसद सचिवालयका कर्मचारी सापकोटाको कार्यकक्षमा।
लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो।
प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको महासचिव गौतमले जानकारी दिएका छन्।
संघीय संसदका सदस्यहरुलाई समेत नयाँ नक्सा अंकित लोगो आइतबारदेखि नै उपलब्ध गराइने सचिवालयले जनाएको छ।
हाल प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ।

प्रतिक्रिया