राजनीति


लद्दाख भिडन्तपछि चीनका विदेशमन्त्रीको तिब्बत सीमा क्षेत्रमा दुर्लभ ‘अध्ययन’ भ्रमण

लद्दाख भिडन्तपछि चीनका विदेशमन्त्रीको तिब्बत सीमा क्षेत्रमा दुर्लभ ‘अध्ययन’ भ्रमण

नेपालखबर
साउन ३१, २०७७ शनिबार १५:३६,

लद्दाख भिडन्तपछि भारतसँग तनाव बढिरहेका बेला चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले शुक्रबार तिब्बतको दुर्लभ भ्रमण गरेका छन्।

चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारको पत्रिका तिब्बत डेलीले विदेशमन्त्री वाङले तिब्बतको भारतीय सिमावर्ती क्षेत्रको समेत भ्रमण गरेको जनाएको छ। चीनका विदेशमन्त्री हत्तपत्त तिब्बत भ्रमणमा नआउने भएकाले वाङको यो भ्रमणलाई दुर्लभ मानिएको छ।

‘चीन सरकारको कुटनीतिक मोर्चाले राष्ट्रिय सुरक्षा तथा तिब्बतको खुलापनका लागि तिब्बतका नागरिकसँग मिलेर काम गर्ने छ’, वाङको भनाइ उधृत गर्दै तिब्बत डेलीले शनिबार लेखेको छ।

करिब दुई महिनाअघि लद्दाखको गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिक मारिएका थिए। त्यसयता दुई देशका सैनिक र कुटनीतिक तहबीच पटक पटक वार्ता भएर सीमा क्षेत्रबाट सेना फिर्ता गर्ने सहमति भएपनि तनाव झन् बढिरहेको छ।

वाङले तिब्बत सीमा क्षेत्रमा भ्रमण गरे लगत्तै शनिबार स्वतन्त्रता दिवसको उपलक्ष्यमा दिल्लीमा बोल्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाख मामिला विश्वले हेरिरहेको भन्दै ‘भारतको सार्वभौमिकतामाथि कसैले चुनौती दिए त्यही भाषामा जवाफ दिन तयार रहेको’ बताएका थिए।

पछिल्लो समय भारतले सीमा क्षेत्रमा सेनाको ठूलो संख्या परिचालन गरेको छ भने अत्याधुनिक हतियार पनि थुपारेको छ। चीनले पनि सीमा क्षेत्रमा सेना र हातहतियार थप्नुको साथै युद्धअभ्यास गरिरहेको रिपोर्टहरू आइरहेका छन्।

विश्वकै ठूलो जनसंख्या र उदीयमान आर्थिक शक्ति चीन र भारतबीच अहिले व्यापार करिब ठप्प भएको छ।

केही अन्य चिनियाँ सञ्चार माध्यमले वाङको तिब्बत भ्रमणलाई ‘अध्ययन भ्रमण’ भनेका छन् र, ‘यसबाट राष्ट्रिय सुरक्षाको मामिलामा चिनियाँ सेना र विदेश मन्त्रालयबीच संयोजन हुने’ टिप्पणी गरेका छन्।

‘तिब्बतको सुरक्षा र स्थिरता चीन र चिनियाँ कम्युनिष्ट पार्टीको सुरक्षा र विकाससँग सम्बन्धित छ’, वाङले भने, ‘कोभिड १९ को चौतर्फी असरका बाबजुद कुटनीतिक मोर्चाले तिब्बतका अधिकारीहरूसँग मिलेर तिब्बतको सुरक्षा र स्थिरताका लागि ‘नयाँ युगमा तिब्बतको सुशासन गाइडलाइन’ कार्यान्वयन गर्न काम गर्नेछ।’

तिब्बत डेलीका अनुसार भारतसँग भिडन्तपछि तिब्बतमा बेइजिङबाट भएको यो पहिलो उच्च भ्रमण हो। शुक्रबार वाङले ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत क्षेत्रका सचिव र तिब्बतका सरकार प्रमुखसँग भेटवार्ता गरेका थिए। 

भारतसँग तनाव बढेसँगै तिब्बतको सीमा क्षेत्रमा परिचालन गरिएका चिनियाँ सेनाका अधिकारीहरूसँग पनि वाङले भेटवार्ता गरेको बताइएको छ।

भेटमा वाङले तिब्बतको क्षेत्रीय स्थिरता, चीनको राष्ट्रिय सुरक्षा, तिब्बतको खुलापन र बाह्य विश्वसँग सहकार्य तथा आर्थिक र सामाजिक विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन्।

भारतीय सीमा क्षेत्र भ्रमण गर्ने क्रममा तिब्बतले पूर्वाधार विकास, गरिबी निवारण र गाउँको विकासमा राम्रो प्रगती गरेको वाङले बताए।

नेपाल, भारत, विवादस्पद कास्मिर क्षेत्र, भुटान र म्यानमारसँग तिब्बतको सीमा जोडिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .