राजनीति


‘चिनियाँ जनमुक्ति सेनाको चरणबद्ध सैन्य अभ्यास ताइवान कब्जा गर्ने योजना’

‘चिनियाँ जनमुक्ति सेनाको चरणबद्ध सैन्य अभ्यास ताइवान कब्जा गर्ने योजना’

नेपालखबर
साउन ३१, २०७७ शनिबार ८:७,

चिनियाँ जनमुक्ति सेनाले ताइवान नजिक पर्ने चिनियाँ तटीय शहरहरुमा समुन्द्र र जमीन दुवैमा प्रयोग गर्न सकिने हतियारहरु पनि तैनाथ गरेका छन्।

चिनियाँ जनमुक्ति सेनाका इस्टर्न थिएटर कमाण्डले बिहीबार मात्र उत्तर र दक्षिणको ताइवान स्ट्रेटमा यसैहप्ता तीनदिने सैन्य अभ्यास सम्पन्न गरेको बताएको थियो।

कमाण्डले यही आइतबार झेजियाङ प्रान्त जुन ताइवानदेखि ३४० माइल टाढा छ त्यहाँ दुई दिन सैन्य अभ्यास गर्ने पनि बताएको छ।

यसबीचमा विज्ञहरुले चिनियाँ जनमुक्ति सेनाको चरणबद्ध सैन्य अभ्यासलाई ताइवान कब्जा गर्ने योजना भएको बताएका छन्।

तर चीनबाट ताइवान अलग्याउन चाहने शक्तिको विरुद्धमा मात्र आफूले सैन्य अभ्यास गरेको चीनको विदेशमन्त्रालयले हालै बताएको छ।

केही समय अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङले ताइवानका अलगाववादीबाट चीनलाई खतरा उत्पन्न भएकाले आफ्ना सेनालाई युद्धको तयारी थाल्न आदेश दिएका थिए।

यसबीचमा सैन्य अभ्यासहरु भइरहेका हुन्। ताइवानले पनि गत महिना ५ दिने सैन्य अभ्यास गरेको थियो।

‘सन् २०१५ यता चीनको इस्टर्न थिएटर कमाण्ड सीमा क्षेत्रमा विस्तार हुँदै गएका छन्। क्षेप्यास्त्र, रकेट लन्चरजस्ता सबै हतियार प्रणाली तयार छन्’ कान्वा डिफेन्स रिभ्युका सम्पादक आन्द्रे चाङ भन्छन्,‘सन् २०१७ यता दुईवटा नौसेनाका टोलीहरु बनेका छन् साथै समुन्द्र र जमीनमा लड्ने ४० हजार सेना वरपर छन्।’

पछिल्ला गतिविधिले ताइवान र चीनको विवाद चर्कने खतरा उत्पन्न भएको छ। बेइजिङस्थित सैन्य विज्ञ झाउ चेनमिङ भन्छन्,‘अमेरिका र ताइपेइबीच सम्बन्ध प्रगाढ बन्दै जाँदा चिनियाँ सैन्य अभ्यास ताइवानलाई राजनीतिक चेतावनी हो।’

ताइवानमा हालैमात्र अमेरिकाका स्वास्थ्यमन्त्री एलेक्स अजरले चारदिने भ्रमण गरेका थिए। ताइवानलाई आफ्नो भूमि मान्दै आएको चीनले अमेरिकी उच्च अधिकारीको यस भ्रमणलाई चर्को स्वरमा विरोध गरेको थियो।

ताइवानले आफू लोकतान्त्रिक मुलुक भएको बताउँछ तर चीनले ताइवानलाई आफ्नो मुलुकको अंगको रुपमा हेर्ने गरेको छ।

चीनले आवश्यक परेको खण्डमा आफूले शक्ति लगाएर ताइवान कब्जा पनि गर्नसक्ने बताइरहँदा ताइवानले चिनियाँ खतरासँग जुध्नलाई आफ्नो रक्षाशक्ति मजबुत बनाउन थालेको छ।

गत मे महिनामा ताइवानकी राष्ट्रपति साइ इंग–वेनले आफ्नो नयाँ कार्यकालमा क्षेप्यास्त्र कार्यक्रम अगाडि बढाउने र प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउने बताएकी थिइन्।

उनले चीनको एक देश दुई प्रणाली नीति ताइवानमा नचल्ने पनि बताएकी थिइन्। (एससीएमपी र एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad