राजनीति


स्वास्थ्यमन्त्री भन्छन् : सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस्

स्वास्थ्यमन्त्री भन्छन् : सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस्

नेपालखबर
साउन २७, २०७७ मंगलबार ८:२७,

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन्।

उनले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिएका हुन्।

मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरुद्ध लडन मति सप्रियोस भन्दै शुभकामना दिएका हुन्।

‘आजको यो कृष्णअष्टमीको दिन मति विग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लडनका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु। चाहे ती मेरा घरभित्र बसेका हुन, चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन्’, मन्त्री ढकालले भने, ‘सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पु¥याउन सक्दैन्।’

उनले महामारीबाट बाँचियो भने सत्ताको लडाईं फेरि पनि लड्न सकिने भन्दै सकारलाई सघाउन नेताहरुलाई आग्रह गरे। सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्न समेत आग्रह गरे।

‘बाँचियो भने सत्ता प्राप्तिको लडाईं फेरि पनि लड्न सकिन्छ। किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन्। पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन्’, उनले भने, ‘म्यान्डेटपछि त्यो खेलमा लाग्दाखेरीपनि केही बिग्रिदैन। स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्ने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेला अनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले त्यहि ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन्। जनताको नजरमा हामी परीक्षमा नै छौं। सबैले जनताबाटै उत्तँर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाईंलाई सहजतापूर्वक समाधान गर्न सक्छौं।’

उनले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताए। कुनैबेल पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको बताए। त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताए। अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताए। जस्तोसुकै गीत आए पनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रष्ट पारे।

‘गीतहरु बदलीबदली आउने छन्। एक जमना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो। अव त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो’, उनले भने, ‘अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन्। ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ।’

मन्त्री ढकालले नेपालमा अहिले पनि कोरोना संक्रमणको स्थिति नियन्त्रणभित्रै रहेको बताएका छन्। संक्रमणको अवस्था समुदायस्तरमा देखिए पनि नियन्त्रणको स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताए। अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्यहरु प्रभावकारी भएको बताए। महामारीको अप्ठेरोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad