राजनीति


भारतका विदेशमन्त्रीले गौतम बुद्धलाई भारतीय भनेपछि नेपालमा सुरु भयो विरोध

भारतका विदेशमन्त्रीले गौतम बुद्धलाई भारतीय भनेपछि नेपालमा सुरु भयो विरोध

नेपालखबर
साउन २५, २०७७ आइतबार ११:२३,

भारतका विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई भारतीय भनेपछि नेपालमा त्यसको तीब्र बिरोध सुरु भएको छ।

भारतका मन्त्री तहको कुटनीतिक स्तरबाटै झूठो तथ्यको प्रचारप्रसार भएको भनी नेपालका बिभिन्न क्षेत्रका व्यक्तिहरुले त्यसप्रति आपत्ति जनाएका हुन्।

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार आयोजित एक अनलाइन अन्तरक्रियामा भारतका अहिलेसम्मकै सबैभन्दा महान दुई भारतीयमध्ये पहिलो गौतम बुद्ध र अर्का महात्मा गान्धी भएको दाबी गरेका थिए।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक वक्तव्य जारी गर्दैै त्यसको बिरोध गरेका छन्। उनले सरकारलाई भारतसँग औपचारिकरुपमै कुराकानी गर्न अनुरोध गरेका छन्।

नेपाली कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले ‘भारतीय बिदेशमन्त्रीबाट गौतमबुद्धको जन्मभूमिबारे हाल भएको ग़लत अभिब्यक्ति प्रधानमन्त्री ओलीको रामजन्मभूमि सम्बन्धी अभिब्यक्ति जस्तै भ्रमपूर्ण र मजाकिलो’ भनी टिप्पणी गरेका छन्। 

पत्रकार तथा लेखक कनकमणि दीक्षितले बुद्ध वर्तमान अवस्थामा नेपालमा रहेको लुम्बिनीमा जन्मी हाल भारतमा पर्ने बोध गयामा गई बुद्धत्व प्राप्त गरेको प्रसंग उल्लेख गर्दै यस सम्बन्धमा उल्टा गतिबिधि गर्न नहुने बताएका छन्।

सत्तारुढ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले वुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा कुनै शंका नरहेको र संसारले मानेको भए पनि भारतमा वेलावेला गलत कुरा बोलेर नेपालीको भावनामाथि खेलवाड गर्न खोजिएको बताएका छन्। उनले नेपाल सरकारले यस्ता हर्कत नगर्न भारतलाई कडा पत्र लेख्नुपर्ने उनको भनाइ छ।

योजनाविद् सूर्यराज आचार्यले नेपालमा जन्मेका बुद्धले भारतमा पनि ज्ञानको ज्योति फैलाएकोमा भारतले गर्व गर्नु स्वभाविक भए पनि मन्त्री तहबाट उनलाई भारतीय भनेर अफवाह फैलाउनु लापरवाहिको संकेत भनेका छन्।

नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले भारतीय विदेशमन्त्रीस्तरको कुटनीतिक तहबाट आएको अत्यन्तै बेतुकको भनाई भनी टिप्पणी गरेका छन्। बुद्ध एक महान मानव भएको र उनका शिक्षाले मानव समुदायलाई विभाजित होइन जोड्नुपर्ने उनले बताएका छन्।

जनस्वास्थ्य विज्ञ रीता थापाले विदेशमन्त्रीसँग प्रश्न गरेकी छन्– ‘जय शंकरजी, यदि तपाई भारतमा जन्मेर अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट पीएचडी गरी गौतम बुद्ध जस्तै विश्वले मान्ने ज्ञान प्राप्त गर्नुभयो भने के तपाईं पनि अमेरिकी बन्नुहुन्छ र?’

अन्तर्राष्ट्रिय मामिलाका अध्येता टिकाप्रसाद ढकालले संसारकै साझा सम्पदाका रुपमा लिइने बुद्धका शिक्षालाई भारतीय राष्ट्रियतामा सीमित गर्न खोज्नु उनीप्रति सबैभन्दा ठूलो अन्याय हुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad