सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र पदको विवाद नरहेको प्रष्ट पारेका छन्।
उनले नेकपाले देश र जनताको सेवा गर्ने भनेरै पार्टी एकता गरेको समेत प्रष्ट पारेका छन्। प्रचण्डको सचिवालयका तर्फबाट गंगा दाहालले सामाजिक सञ्जालमा कम्युनिष्ट पार्टीमा विचार र बहस हुनु सामान्य प्रक्रिया भएको उल्लेख गरेकी छिन्।
‘विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा भइरहन्छ र यो सामान्य हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै दाहालले थपेकी छिन्, ‘पद हाम्रो विषय होइन, देश र जनताको सेवा नै मुख्य हो। राष्ट्रको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ।’
पदकै लोभले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिइएको प्रचार भएपछि प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको हो।
नेकपाको असार १० गतेदेखि जारी स्थायी कमिटीको बैठकमा ओलीको राजीनामाको विषय प्रमुखताका साथ उठेको थियो। ओलीको राजीनामा माग भएपछि स्थायी कमिटीको बैठक असार १८ गतेदेखि बस्नसकेको छैन।
पछिल्लो पटक साउन १३ गतेको लागि बोलाइए पनि अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गराएपछि प्रचण्डले बैठक राखेका थिए।
प्रतिक्रिया