ad ad

समाज


‘लहर’ होइन, डढेलो हो कोरोना महामारी

‘लहर’ होइन, डढेलो हो कोरोना महामारी

माइकल टी ओस्टरहोम र मार्क ओल्सेकर
साउन २१, २०७७ बुधबार ११:५१,

कोरोना भाइरस महामारी कस्तो हुन्छ, यसअघि हामीलाई अनुभव थिएन। त्यसैले जब कोभिड–१९ को कारक भाइरस सार्स–कोभ–२ फैलिन थाल्यो, तब जनस्वास्थ्य विज्ञहरुले यसअघिका इन्फ्लुएन्जा महामारीबाट प्राप्त अनुभवका आधारमा यसबारे अनुमान गर्न थाले। इन्फ्लुएन्जा महामारीलाई प्रायः ‘लहर’ का रुपमा व्याख्या गर्ने गरिन्छ। तर, अहिले हामीले कोरोना महामारीलाई राम्ररी भोगिसक्यौँ। त्यसैले यो समुद्री उपमालाई विस्थापित गर्नु उपयुक्त हुन्छ– कोरोना महामारी लहर होइन, डढेलो हो।

डढेलोले जस्तै निस्ठुरतापूर्वक यो भाइरसले आफ्नो इन्धन (मानव शरीर) को खोजी गरिरहन्छ। यसले कुनै क्षेत्रमा भयानक क्षति गर्छ भने कुनैलाई छाडिदिन्छ। यो त्यसबेलासम्म निरन्तर फैलिरहन्छ, जुनबेलासम्म हामी ‘हर्ड इम्युनिटी’ प्राप्त गर्न सक्दैनौँ। जनसंख्याको ५० देखि ७० प्रतिशत हिस्साले भाइरसबाट बचाउने एन्टिबडी विकास गरेपछि मात्रै भाइरस सर्ने क्रम धिमा हुन्छ। ‘हर्ड इम्युनिटी’ या त व्यापक संक्रमणपछि प्राप्त हुन्छ, या प्रभावकारी र सुलभ खोप उपलब्ध भएपछि। गफ जति राम्रो गरेपनि यो यथार्थलाई बदल्न सकिन्न।

कोरोना भाइरसलाई मौसम वा ऋतुले कुनै फरक पार्दैन भन्ने सशक्त प्रमाण हामीसँग छ। मानवीय सम्पर्कबाट यो सर्छ र खासगरी जनघनत्व बढी भएका स्थानलाई बढी प्रभावित पार्छ। कोरोना संक्रमणपछि प्राप्त हुने प्रतिरोध क्षमता स्थायी हुन्छ वा अस्थायी, हामीलाई थाहा छैन। यसको खोप बन्यो भने त्यो पोलियो वा दादुराको जत्तिकै अचुक हुन्छ, या रुघाखोकीको जस्तै आशा बढाउने खालको मात्रै हुन्छ, त्यो पनि हामीलाई थाहा छैन। खोप प्रभावकारी होस् भन्ने हाम्रो आशा हो। तर, आशा गतिलो रणनीति भने होइन। एचआईभीजस्तै कोरोना पनि यहाँ लामो समय रहन्छ। त्यसैले हाम्रो रणनीति यथार्थमा आधारित हुनुपर्छ।

जनताले त्यसबेला सबैभन्दा शान्तिपूर्वक संकटको सामना गर्छन्, जब नेतृत्वले उनीहरुलाई सत्य बताउँछ। भलै त्यो सत्य डरलाग्दो नै किन नहोस्। यसअघिका महामारी, युद्ध र अरु राष्ट्रिय संकटहरुको अध्ययनले यो कुरा सत्य साबित गरिसकेको छ। यदि कुनै विषयमा नेतालाई थाहा छैन भने उसले ढाँट्नु हुँदैन। नजानेको कुरा जान्न के गरिरहेको छ, उसले जनतालाई भन्नुपर्छ। तर, अहिलेसम्म अमेरिका उल्टो दिशामा हिँडिरहेको छ। वैज्ञानिक रुपमा गलत, तर्कहीन रुपमा आशावादी सन्देश दिँदा जनतामा दुविधा र भ्रम उत्पन्न हुन्छ। कसलाई विश्वास गर्ने उनीहरुलाई थाहा हुँदैन। विज्ञान त यसको पहिलो सिकार नै बन्छ। त्यसैले हामीले वैज्ञानिक तथ्यमा आधारित सन्देश मात्रै दिनुपर्छ।

आगामी दिनमा अमेरिकामा कोरोनाको डढेलोले कति इन्धन भेट्छ, त्यहाँको मृत्युदर यसैमा निर्भर रहन्छ। वुहान शैलीको पूर्ण लकडाउन अव्यवहारिक हुन जान्छ। तर, हामीले संक्रमण बढिरहेका हटस्पटहरुमा कडा लकडाउन गर्नुपर्छ। अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्नुपर्छ। ताकि संक्रमण दरलाई व्यवस्थापन गर्न सकिने तहमा झार्न सकियोस्। यो अन्यन्त कठिन र नाजुक काम हो। किनभने एउटा समाजलाई चलायमान राख्न थुप्रै खालका कामकार्वाही आवश्यक पर्छन्। तथापि, न्युयोर्क तथा एसिया र युरोपका केही मुलुकहरुको उदाहरण हेर्दा आवतजावतमा कडा प्रतिबन्ध लगाएर मृत्युदर नियन्त्रण गर्न सकिन्छ र सुरक्षित रुपमा अर्थतन्त्र सञ्चालन गर्न सकिन्छ।

दुर्भाग्यवश अमेरिका अति आशावादी र दुस्साहसी बन्दै आएको देख्न सकिन्छ। कोभिड–१९ विरुद्ध अलिकति सफलता हात लाग्नेबित्तिकै हामी ढुक्क भइहाल्यौँ। जबकि त्यसबेला प्रतिदिन २० हजारभन्दा बढी संक्रमित भइरहेका थिए। तर, हामीले भन्यौँ, कोरोना नियन्त्रणमा आइसक्यो सबै काम पूर्ववत् चल्न सक्छ। त्यसपछि के भयो, कठोर तथ्यांक आफैँ बोल्छ।

अमेरिकामा संक्रमण बढिरहेको छ। यसलाई परिवर्तन गर्न के गर्ने त? देशको ठूलो हिस्सामा लडकाउन गर्ने धैर्य र सामूहिक चाहना तथा जहाँ संक्रमण बढ्छ, त्यहीँ तुरुन्त निर्णायक कदम चाल्ने लचकता भएन पनि मृतक र संक्रमितको संख्या निरन्तर बढिरहनेछ। तर, यो काम वर्तमान नेतृत्वबाट हुन्छ भन्ने आशा गर्न सकिँदैन। गभर्नरहरुले निर्णय लिनुपर्छ।

जनस्वास्थ्य र महामारीका विषयमा इतिहासदेखि नै अमेरिका अग्रस्थानमा रहँदै आएको छ। तर, यतिबेला हामीले दक्षिण कोरिया, सिंगापुर, केही युरोपेली मुलुक र न्युयोर्कजस्ता राज्यलाई उदाहरण मान्नुपर्ने हुन्छ। जसले सुरुमै चुनौती पहिचान गरे र इमानदारीपूर्वक प्रभावकारी नेतृत्व दिए। परीक्षण, कन्ट्याक्ट ट्रेसिङ लगायतका काम गरे।

हामीलाई थाहा छ, लकडाउनलाई दीर्घकालीन समाधानको उपाय मान्ने हो भने ठूलो आर्थिक र सामाजिक क्षति हुनेछ। यसबाट सबैभन्दा पीडित हुनेहरुको ख्याल राख्न हामी तयार हुनैपर्छ। यसको कुनै निश्चित र सहज उत्तर छैन। सुरुमा भाइरस नियन्त्रण गर्न सफल भएका मुलुकमा पनि अर्थतन्त्र खुला भएपछि भाइरस पुनः फैलिन थालेको छ।

तर, एउटा कुरामा भने हामी ढुक्क हुन सक्छौँः हामीले कोरोना नियन्त्रणको दोस्रो मौका पाएका छौँ। यतिबेला निर्णायक कदम नचाल्ने हो भने त्यो निकै महंगो साबित हुनेछ। सायद हामीले तेस्रो मौका पाउने छैनौँ।

(द गार्जियनबाट। माइकल टी ओस्टरहोम युनिभर्सिटी अफ मिनोसेटास्थित सेन्टर फर इन्फेक्सिअस डिजिज रिसर्च एन्ड पोलिसीका निर्देशक हुन्। मार्क ओल्सेकर लेखक तथा डकुमेन्ट्री निर्माता हुन्। उनीहरु ‘डेड्लियस्ट एनिमीः आवर वार अगेन्स्ट किलर जर्म्स’ पुस्तकका लेखक हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .