राजनीति


कसैले जबज, कसैले माओवाद जिन्दावाद भन्यो भने एकता रहँदैनः प्रचण्ड

कसैले जबज, कसैले माओवाद जिन्दावाद भन्यो भने एकता रहँदैनः प्रचण्ड

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ९:२०,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पार्टीमा देखिएको गुटगत गतबिधि र विचारमा देखिएको विवादका कारण नेकपा संकटमा पुगेको बताएका छन्।

‘पार्टी अहिले संकटमा छ, सामान्य स्थितिमा छैन,’ प्रचण्डले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा संबोधन गर्दै भने।

उनले अहिले पार्टीको एउटा पक्षले जनताको बहुदलीय जनवाद र अर्को पक्षले एक्काइशौं शताब्दीको जनवाद भन्न थाल्ने हो भने त्यो पार्टी एकताविपरित हुने बताए।

तत्कालीन नेकपा–एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता गर्दा एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको एक्काइशौं शताब्दीको जनवादको सट्टा जनताको जनवाद एकिकृत पार्टीको राजनीतिक कार्यदिशा तय गरिएको थियो।

‘हामीले राजनीतिक कार्यदिशाको रुपमा समाजवादउन्मुख जनताको जनवाद भन्यौं, तर अहिले फेरि पछाडि फर्कन खोजेको देखिन्छ,’ उनले भने, ‘अहिले फेरि कसैले माओवाद जिन्दावाद वा कसैले जनताको बहुदलीय जनवाद जिन्दावाद भन्यो भने पार्टी विभाजनतर्फ गएको देखिन्छ।’

उनले जबजलाई आफूहरुले निषेध नगरेको प्रष्ट्याउँदै त्यसको उच्चसम्मान गरेको बताए।

प्रचण्डले मदन भण्डारीको राजनीतिक गतिशिलिता तथा योगदान र माओवाद बिद्रोहको पनि उच्चमूल्यांकन नै गरिएको बताए।

‘तर जनताको जनवादको बाटो छोडेर माओवाद वा एक्काइशौं शताब्दी जिन्दावाद वा जबज जिन्दावाद भन्न थाले एकताको भावना विपरित हुन्छ,’ उनले भने।

उनले अहिले पार्टीको कुनै पक्षले कसैको पक्ष र विपक्षमा जुलुस निकाल्न नहुने बताए।

‘अहिले हामी जुलुस ननिकालौं भनेका छौं तर जुलुसहरु निस्केको देखेका छौं,’ उनले भने।

पार्टीमा विचार र बिधिमा बैज्ञानिक एकरुपता कायम हुनुपर्ने र त्यसका लागि प्रयास जारी राखिएको प्रचण्डले बताए।

एकताप्रति मायाँ नहुनेले सामुहिक निर्णय नमान्ने र व्यक्तिगत निर्णय लाद्न खोज्ने उनले बताए।

प्रधानमन्त्री तथा केपी शर्मा ओलीले प्रचण्डलाई अबको महाधिवेशनमा जनताको बहुदलीय जनवादको सिद्धान्तलाई स्वीकार गरी एकल अध्यक्ष बन्न गरिएको प्रस्ताव बाहिरिएका बेला प्रचण्डले सो धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad