प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।
आइतबार बिहान आफूनिकटका नेताहरुसँग ओलीसँग कुनै सहमति नभएको प्रष्टीकरण दिएका प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ।
‘पार्टीमा देखिएका गतिरोधका विषयमा छलफल हुन्छ, उहाँहरु एक्लाएक्लै कुरा गरिरहनुभएको छ’, उनको सचिवालयका विष्णु सापकोटाले भने।
शनिबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीको राजीनामा नमागेपछि वरिष्ठ नेता नेपाल समूहले केही सहमति भएको हुनसक्ने आशंका गरेको थियो।
आइतबार बिहानै प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका १४ जना प्रभावशाली नेतासँग पनि छलफल गरेका थिए।
नेकपाको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया