प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जाका सैनिक मूल्यमान्यता, आचरण, देशभक्ति, निःस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासनमा रहनुपर्ने बताएका छन्।
सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आचारसंहिता सप्ताह २०७७ शुभारम्भ गर्दै उनले आचारसंहिता बहालमा रहँदा होस् वा अवकाशपछि पनि अनुशासनमा रहनु जीवनोपयोगी मार्गदर्शन भएको बताए।
प्रधानसेनापति थापाले भने, ‘पेशेवर र व्यावसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित संगठन भएकाले सेनामा आचारसंहिता पालनामा हरेक व्यक्ति गम्भीर हुन आवश्यक छ।’
सकलदर्जालाई बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र गर्न नहुने कामको बारेमा सुसूचित गराउँदै उनले सैनिक अनुशासित, आचारणयुक्त र जिम्मेवार बन्नुपर्ने बताए। सेनाले सबै तह र निकायमा अघिल्लो वर्षदेखि यो सप्ताह मनाउन शुरु गरेको हो।
सप्ताहका क्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनोट, आर्थिक कारोवार, लैङ्गिक आचरणलगायत विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल र प्रवचन सञ्चालन हुने छ।
अघिल्लो वर्ष वैशाख ६ देखि १३ गतेसम्म ‘नेपाली सैनिक आचारसंहिता सप्ताह’ कार्यक्रम पहिलोपटक आयोजना गरिएको थियो। सेनाका सबै तह र संरचनामा विद्युतीय माध्यमबाट प्रत्यक्ष जानकारी लिन सक्ने गरी उक्त कार्यक्रम सञ्चालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रासस

प्रतिक्रिया