सेनाको ‘दोस्रो नेपाली सेना आचार संहिता सप्ताह २०७७’ शुभारम्भ भएको छ।
भद्रकालीस्थित जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच शुभारम्भ गरेको सो कार्यक्रम श्रावण ८ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण, नैतिकता तथा मूल्यमान्यता थप मजबुत बनाई विशिष्ट सैनिक चरित्र निर्माण गर्दै लैजाने उद्देश्यले नेपाली सेनामा वार्षिक कार्यक्रमको रुपमा ‘आचारसंहिता सप्ताह’ सञ्चालन गर्न शुरु गरिएको बताए।
उनले संगठन सुधारका लागि कार्यरत सबै सकलदर्जामा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिकरुपमा उच्चस्तरको हुनुपर्ने उल्लेख गर्दै आचारसंहिता सैनिक व्यक्तिका लागि बहालमा रहँदा र अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको बताए।
प्रधानसेनापति थापाले पेशेवर र व्यवसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सैनिक संगठन भएकोले नेपाली सेनामा आचारसंहिता सम्बन्धी विषयमा हरेक व्यक्तिले हरेक दिन विशेष जोड दिन निर्देशन दिए।
जंगी अड्डाका अनुसार आचारसंहिता सप्ताह नेपाली सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्नहुने र गर्ननहुने कार्यहरुका बारेमा सुसूचित गराउँदै एक अनुशासित, आचारणयुक्त र जिम्मेवार सैनिक व्यक्तिका रुपमा विकास गर्नका लागि नेपाली सेनाको सबै अंगको सबै तहमा सञ्चालन गरिएको हो। सो क्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट सम्बन्धी, आर्थिक कारोबार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल, केश स्टडी, प्रवचन जस्ता विधिहरुबाट कार्यक्रमहरु सञ्चालन हुनेछन्।
नेपाली सेनाले २०७६ सालमा पनि वैशाख ६ गतेदेखि १३ गतेसम्म पहिलो पटक ‘नेपाली सैनिक आचारसंहिता सप्ताह’ कार्यक्रम आयोजना गरेको थियो। साथै हरेक तहमा कार्यरत सैनिक सकलदर्जाले पालना गर्नुपर्ने सैनिक आचारसंहिता र आफ्नो जीवनमा अपनाउनुपर्ने मानवीय आचरणयुक्त पद्धतीहरुबारे जानकारी दिने उद्देश्यसहित ‘नेपाली सैनिक आचारसंहिता संग्रह–२०७६’ समेत प्रकाशन गरेको जनाएको छ।
कार्यक्रममा कोभिड १९ को महामारीबीच सबै किसिमका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी सञ्चालन गरिएको उक्त आचारसंहिता सप्ताहको शुभारम्भको दिन सदाचार र मानवीय मूल्यमान्यता सम्बन्धमा रमण भट्टराईबाट अभिप्रेरणात्मक प्रवचन समेत सञ्चालन गरिएको थियो।
नेपाली सेनाको सबै फर्मेशन, युनिट तथा सब युनिटहरुमा लाइभ मल्टिकास्ट गरिएको उक्त कार्यक्रममा पिएसओज्, रथीवृन्द, अधिकृत वर्ग तथा सकलदर्जाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया