चीनले जवाफमा मंगलबार दक्षिण चीन सागरलाई आफ्नो समुद्री साम्राज्यमा परिवर्तन गर्ने कुनै अभिप्राय नभएको प्रतिक्रिया दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
आफ्नो र दक्षिणपूर्वी एसियाली छिमेकीको सम्बन्धलाई अमेरिकाले भत्काउन खोजेको चीनको आरोप छ।
अमेरिकी विदेशमन्त्री माइक पम्पिओले सोमबार दक्षिण चीन सागरस्थित विवादित जल क्षेत्र नियन्त्रण गर्ने चीनको आक्रामक अभियान गलत भएको आरोप लगाएका थिए।
मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले लगाएको आरोप पूर्ण रुपमा तथ्यहिन भएको बताएका छन्। उनले भनेका छन्,‘चीन समुद्री साम्राज्य खडा गर्न चाहिरहेको छैन। चीनले आफ्नो छिमेकी मूलुकलाई सम्मान गर्दछ।’
झाओले सो क्रममा दक्षिण चीन सागरमा अस्थिरता निम्त्याउने कारक तत्व अमेरिका नै भएको आरोप लगाए। झाओले भने,‘यस क्षेत्रमा अमेरिका दाबीकर्ता राज्य होइन तर अमेरिकाले लगातार यहाँको पानीमा नौसेनाको जहाज पठाएको छ। वासिङ्टनको मतभेद जगाउने प्रयास सफल हुनेछैन।’
चीनले दक्षिण चीन सागरको ठूलो हिस्सा आफ्नो भएको दाबी गर्दै त्यहाँ मानव निर्मित द्वीपमा सैन्य क्याम्प राखेको छ।

तर त्यस द्वीप तथा चट्टानमा ताइवान, फिलिपिन्स, ब्रुनेई, मेलिसिया र भियनामलेसमेतले आफ्नो दाबी पेस गरिरहेका छन्।
दक्षिण चीन सागर क्षेत्रको स्वामित्वका विषयमा यी देशबीच सदियौंदेखि विवाद भइरहेको छ। तर पछिल्लो समय यो विवाद अझ बढेको छ।
चीनले आफ्नो दाबीलाई बलियो बनाउन उक्त क्षेत्रमा कृत्रिम द्वीप बनाएको छ भने नौसेनाको गस्ती बढाइरहेको छ।
अमेरिकाले त्यस क्षेत्रको विवादमा अमेरिकाले कसैको पक्ष नलिने तर भियतनाम, मलेसिया र इन्डोनेसियाअन्तर्गतको जलक्षेत्रमा चीनको दाबीको विरोध गर्ने बताएको छ।
सोमबार अमेरिकी विदेशमन्त्री पम्पिओले अमेरिका दक्षिण पूर्वी एसियामा आफ्ना सहयोगीको अधिकार र समुद्र तटका स्रोत सुरक्षाका लागि अमेरिका प्रतिबद्ध रहेको बताएका थिए।
अमेरिकाले चीनको विरोध गर्नुको अर्थ
वासिङ्टनस्थित बीबीसी चिनियाँ संवाददाता जायोन फङका अनुसार अमेरिकाले अहिलेसम्म दक्षिण चीन सागर विवादमा कसैको पक्ष लिएको थिएन।
तर अन्तर्राष्ट्रिय अदालत हेगले दक्षिण चीन सागरमा चीनको दाबी कानुनी आधार नभएको बताएको ४ वर्षपछि अमेरिकाले यस विवादमा आफूलाई पनि आधिकारिक रूपमा उभ्याएको हो।
तर प्रश्न के हो भने अमेरिकाले यो कदम किन उठायो?
गत हप्ता दक्षिण चीन सागरमा अमेरिका र चीनले एकै समय नौसेनाको युद्धअभ्यास गराएका थिए। यो निकै फरक दृश्य भएको र चीन र अमेरिकाबीच तनाव बढ्दै गएको विश्लेषण गरिएको छ।
/arc-anglerfish-arc2-prod-mco.s3.amazonaws.com/public/OD3SSUDW3BEZDPCNBNIANM6H4A.jpg)
दक्षिण चीन सागरको विवाद के हो?
इन्डोनेसिया र भियतनामको बीचमा पर्ने उक्त सामुद्रिक क्षेत्र ३५ लाख वर्गकिलोमिटरमा फैलिएको छ। जुन क्षेत्रमा चीन, फिलिपिन्स, भियतनाम, मलेसिया, ताइवान र ब्रुनाईले आआफ्नो दाबी गरिरहेका छन्।
प्राकृतिक सम्पदाले भरिपूर्ण उक्त सामुद्रिक क्षेत्रमा जीवका सयौं प्रजाति पाइन्छन्। एक दशकअघिसम्म उक्त क्षेत्रमा यति धेरै तानातान थिएन।
तर चीनले ठूलो मात्रामा इँटा, ढुंगा, बालुवा बोकेका जहाज पठाउँदै समुद्र किनार वरपर भौतिक संरचना निर्माण थाल्यो।
सुरुमा एउटा बन्दरगाह बनाएको चीनले फेरि जहाज बिसाउने ठाउँ पनि बनायो र दक्षिण चीन सागरमा एउटा कृत्रिम टापु नै तयार पार्यो। अनि त्यसमा सैन्य क्याम्प राख्यो।
यसबीचमा अन्य देशहरु जसले दक्षिण चीन सागरमा आफ्नो दाबी गरिरहेका छन् उनीहरुले चिनियाँ कार्य उत्तेजक भएको बताइरहेका छन्।
अमेरिकाले चीनको विरोध गर्दै अन्य देशको साथ दिएको छ। (एससीएमपी र बीबीसीको सहयोगमा)

प्रतिक्रिया