सत्तारुढ नेकपाका शीर्ष नेताहरुबीच तिक्ततापूर्ण विवाद भइरहेको छ। नेतृत्वको यस्तो किचलोलाई सोही पार्टीका युवा कार्यकर्ताहरुले कसरी हेरिरहेका छन् त? नेकपाका विद्यार्थी नेताहरुले नेपालखबरसँग व्यक्त गरेका विचारः
एउटाले मात्रै चलाउने भए फुट्नु अथवा जुट्नुको अर्थ रहँदैन: करुणा पराजुली
हामी विद्यार्थी संगठनमा राजनीति गरेर आएका हौं। यो पार्टीको संगठित सदस्य भएकाले पनि अहिले पार्टीभित्र देखिएको झगडा, मनमुटाव विधि र प्रक्रिया मिचेका कारण भएको हो।
विधिको कुरा गर्ने तर त्यसको पालना नेतृत्व तहबाट भएन। लकडाउनकै कारण सरकारले पार्टीभित्र समेत पत्तै नदिई दुईवटा अध्यादेश ल्याएकाले गहिरिएको विवाद अझै साम्य नभएको हो।
पार्टीको नियमित बैठक भएन। मनपरी देखियो। सरकारका निर्णय पार्टीमा छलफल गरेर त्यहाँबाट गर्नुपर्यो र पार्टीले सरकार चलाउनुपर्यो।
पार्टीमा श्रमिक वर्गको प्रतिनिधित्व भएन। लकडाउनको बेला श्रमिक मजदुर थुप्रै दिन हिँडेर घर जानुपर्ने अवस्था देखिँदा पनि सरकारले केही गरेन। पछि चौतर्फी दबाबले केही गरेको जस्तो देखिएपनि कम्युनिस्ट सरकारकै बेलामा आफूलाई अन्याय परेको उनीहरुले महसुस गरिरहेका छन्, जुन पछिसम्म रहनेछ। श्रमिक÷मजदुरका पक्षमा काम भएन र पार्टी पुँजीपतिलाई सहयोग गर्ने हुन थाल्यो भन्ने आरोप लाग्दै गएको छ।
पार्टीमा विधि र प्रक्रिया मिचिएको त छ नै, झन् पछिल्ला दिन २ जना अध्यक्ष मात्रै मिलेर थामथुम पार्न खोजेको हो कि भन्ने चिन्ता पनि बढेको छ। किनकि पार्टीलाई विधिअनुसार चलाउनुपर्छ भन्ने हाम्रो चाहना हो, जसले पार्टी साँच्चिकै लोकतान्त्रिक बन्छ।
हाम्रा नेताहरुले वाम चरित्र पनि देखाएका छैनन्। नेताहरुलाई मनपरुन्जेल एकता नत्र विवाद भन्ने खालको देखियोर सबै नेताहरुबीचमा किन मन माझिएन? दुईचार जना नेता मिलेर मात्रै हरेक निर्णय गर्ने हो भने कम्युनिस्ट पार्टी जीवित रहँदैन। नाम कम्युनिस्ट व्यवहार पुँजीवादी भयो यसलाई सुधार गर्नैपर्छ।
पार्टीभित्र आन्तरिक लोकतन्त्र भएन। अहिले पार्टी एकजनाले मात्रै एकलौटी शैलीमा चलाएपछि विरोध भएको हो। पार्टी पनि सरकारपनि एक्लै चलाउन खोज्ने, छलफल नै नगर्ने, यसरी पार्टी कति दिन चल्छ? एउटाले मात्रै चलाउने भए फुट्नु अथवा जुट्नुको अर्थ रहँदैन।
नेताहरुले कार्यशैली बदल्न जरुरी छ: राजु आलेमगर
पार्टीभित्र विवाद देखिनु खासै आश्चर्य होइन। ठूला कम्युनिस्ट पार्टी एक भएको हो, विभिन्न क्षेत्र, लिङ्ग, समुदाय, जाति र वर्गका मानिसबीच अन्तरघुलन हुन बाँकी नै छ। भिन्न स्वरुप, भिन्न भूमिकाबाट आएकाहरु पनि छन् उनीहरुकोबीचमा अस्तित्व जोगाउने र वर्चस्व राख्ने प्रतिस्पर्धा पनि चलेको छ।
पार्टीमा प्रतिस्पर्धा हुनु नराम्रो होइन। तर, कलह बढ्नुले जनताका एजेन्डा ओझेल पर्ने खतरा छ। बढ्दो विवादले आम जनतामा नकारात्मक असर पर्न थालिसकेको छ।
नेताहरुले कार्यशैली बदल्न जरुरी छ। नेतृत्वको कार्यशैली पहिला सुधार हुनुपर्यो। पार्टीलाई सामूहिक रुपमा अघि बढाउनुपर्छ। सोही अनुसारको जिम्मेवारी र भूमिका दिइनुपर्छ। सहमति गर्ने तर, कार्यान्वयन नगर्ने गर्दा गतिरोध उत्पन्न हुन्छ अहिलेको गतिरोध कारण यो पनि हो।
विगतका सहमति कार्यान्वयन गरे अहिलेको समस्या हल हुन्छ। पार्टीभित्र अन्तविरोध हुन्छन्। त्यसलाई समाधान नेतृत्वले गर्ने हो, यसलाई विकराल बनाउनु हुँदैन। कुनै निर्णय गर्दा पार्टीभित्र छलफल, बहस गरी सुझबुझ रुपमा गर्नुपर्छ।
पार्टीमा थुप्रै नेतृत्व गर्न सक्षम नेता हुनुहुन्छ। पछिल्लो चरण कार्यविभाजनमा समस्या देखिएको पनि छ। क्षमता हुनेले भूमिका नपाउँदा पार्टीमा देखिने गरी काम हुन सकेको छैन।नेकपाभित्र सबैभन्दा ठूलो सांगठनिक समस्या छ। यसलाई मिलाइएन भने अहिले देखिएका समस्या आइरहन्छन्।
विवाद पनि दुई अध्यक्षले मिलाउनुपर्छ: रश्मि आचार्य
पार्टीमा विवाद आउन हुन्थेन। यो विवाद गर्ने समय नै होइन। विगतका सहमति पूर्ण कार्यान्वयन गरेर जाने, एकतालाई मजबुत बनाउने समय हो यो।
विगतमा जे भनेर सहमति गरिएको थियो तिनीहरुको पूर्ण पालना गरेर पार्टीमा देखिएका समस्याहरुलाई नेतृत्वले कुशलतापूर्वक हल गर्नुपर्छ।
पार्टी संगठनमा देखिएका गतिरोधका विषयमा नेतृत्वले विवेकपूर्ण रुपमा समाधान गर्नुपर्छ। नेतृत्वको क्षमता देखाउने बेला यही हो।
अहिले नेपालको राष्ट्रियता पनि कमजोर अवस्थामा छ। अनि यहीबेला नेतृत्वमाथि प्रहार गर्ने कुराले राम्रो संकेत गर्दैन। जनताले स्थायी सरकारका लागि दिएको म्यान्डेट अनुसार जनादेशको सम्मान गर्दै मिलेर जनताको पक्षमा काम गर्न ढिलाई गर्नु हुँदैन। त्यसमा नेकपा नेतृत्वपंक्ति चुक्नु हुँदैन।
त्यसकारण एकतालाई कायम गर्ने जनताको जनादेशको सम्मान गर्ने, सुशासनको चाहना पूरा गर्ने र विकास र समृद्धिको कुरालाई पूरा गर्ने कुराबाट नेकपाको सरकार विमुख हुन पाउँदैन। मिल्नुको विकल्प छैन। हामीले मिल्न अपिल गरिरहेका छौं। कसैले पनि सपनामाथि कुठाराघात नगर्न भनिरहेका छौं।
अहिले देखिएको यो विवाद प्राविधिक हो। यत्रो पार्टी एकता गरेर आउनुभएका नेताहरुले यस्तो प्राविधिक विवादमा अल्झिनु हुँदैनथ्यो। मिल्नुपर्छ, एकताको विकल्प छैन। आम जनताको अपेक्षा पूरा गर्न एकताबाहेक अरुबाट सम्भव छैन। पछि फर्किने छुट छैन।
जति टाढा गएपनि फर्केर एक ठाउँमा बसौं र फेरि मिलेर पार्टी चलाउनुको विकल्प दुईवटा अध्यक्षको सामु छँदैछैन।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले हिजो बनाएको सहमति पनि मिलेर चलाउने भन्ने हो। २ पार्टीलाई भंग गरेर नेकपा बनाएपछि यो प्रक्रियालाई नटुङ्ग्याउँदासम्म उहाँहरुले दायाँबायाँ गर्नु हुँदैन।
एकता प्रक्रिया टुंगिगएको छैन। अहिलेपनि थुप्रै नेता कार्यकर्ता जिम्मेवारीविहीन छन्। तिनीहरुलाई जिम्मेवारीमा लगेर, व्यवस्थापन गरेर सबैको सहमतिमा महाधिवेशन गरेर त्यसबाट नयाँ नेतृत्व ल्याउने दायित्वबाट दुवै अध्यक्ष विमुख हुन पाउनुहुन्न।
ओली–प्रचण्डबीचमा २०७५ जेठ २ र २०७६ मंसिर ४ मा भएको सहमति र समझदारीलाई पूर्ण कार्यान्वयन गर्दै एकताको बुँदामा भएका विषयवस्तुहरुलाई टुङ्गोमा पुर्याउने दायित्व छ।
हामी बेरोजगार हुँदा पनि चुप बसेका छौंः आरती लामा
कम्युनिस्ट पार्टीमा तीन पुस्ता लगानी गरियो। पार्टी छोड्ने कुरा भएन मिलाउनुपर्छ। पार्टी विधिसम्मत चल्नुपर्छ, व्यक्ति होइन विधिमा चल्नुपर्छ। पार्टीभित्र विवाद देखिँदा निरास त हुन्छ। ठूलो अपेक्षा सहित पार्टी एकताको ऐतिहासिक कार्य पूरा गर्दा हामीपनि साक्षी भएका छौं।
अहिले पार्टी एकता नभएको भए हामीपनि एउटा राम्रै जिम्मेवारीमा पुगेका हुन्थ्यौं होला तर, एकताको नाममा हामी बेरोजगार हुँदा पनि हामी देश र जनताको अपेक्षा पूरा गर्न सकिन्छ भनेर चुप लागेर बसेका छौं।
यो पार्टीलाई नेताहरुले नै मिलाएर अघि बढाउनुपर्छ। नेताहरु विवाद गर्दा आक्रोश त छ, जनता र पार्टी कार्यकर्ताको अपेक्षा अनुसार काम गरिरहेको छैन। जनताको चाहना बाहिर गएर भइरहेको कलह गलत हो।
युवाहरुको भूमिका पार्टी फुट्न नदिने कुरामा नै हुनुपर्छ। अहिले कोही सडकमा कोही पार्टी कार्यालयमा पनि देखिएको छ, तर हाम्रो भूमिका एकताबाट कसैलाई पनि बाहिर जान नदिने हुनुपर्छ।
मिल्नका लागि दबाब पुगेको छैन। एक व्यक्ति एक पद भयो भने सबैलाई न्याय मिल्छ।
पार्टी माथिदेखि तलसम्म चलायमान हुन्छ। कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने अडान र बालहठ राख्नु हुँदैन। पार्टी एकता जोगाउन व्यक्तिगत स्वार्थ छोडेर त्याग पनि गर्नुपर्छ। एक व्यक्ति एक पद मिलाउँदा सबैको चित्त बुझ्छ शीर्ष नेताहरुको त्यही चाहना देखिन्छ।
विवाद देख्दा विरक्त लागेको छ: कनिश पटेल
स्वभाविक रुपमा पार्टीका नेताहरुबीचमा विवाद हुँदा हामीलाई विरक्त लागेकै छ। यत्रो दुख, संघर्षले पार्टी बनेको छ। नेपालको इतिहासमै कम्युनिस्ट आन्दोलन सफल होला होला जस्तो भएको थियो। हरेक क्षेत्रमा अगाडि बढ्दै थियो। तर, यस्तो बेलामा मूल नेतृत्वमा नै मतभेद देख्दा हामीजस्तो कार्यकर्तालाई चित्त दुखेको छ।
यसको समाधान नेताहरुले व्यक्तिगत इच्छा, आकांक्षा त्याग्नुपर्छ। देश निर्माणको लागि राष्ट्रको जिम्मेवारी सम्झेर एकजुट हुनुपर्छ।
अहिले को प्रधानमन्त्री बन्ने वा को पार्टी अध्यक्ष बन्ने भन्ने कुरामा नेताहरु केन्द्रित भएको जस्तो देखियो। यो दुखद् हो।
एक व्यक्ति एक जिम्मेवारीको विषय महाधिवेशनले नै टुंगो लगाउँछ। अहिले यो विषय अघि सार्नु भनेको पार्टीलाई विक्षिप्त बनाउने, देशको राजनीतिलाई बिगार्ने कुरा मात्र हो। अहिले केपी ओली र प्रचण्डले मिलेर पार्टी चलाउने हो।

प्रतिक्रिया