छापा खबर


कलियुगका जनताको भूमि भारतको कब्जामा, त्रेतायुगका रामकाे जन्मभूमि खोज्दै प्रधानमन्त्री

कलियुगका जनताको भूमि भारतको कब्जामा, त्रेतायुगका रामकाे जन्मभूमि खोज्दै प्रधानमन्त्री

नेपालखबर
असार २९, २०७७ सोमबार २३:५४,

त्रेतायुगका राम ठोरीको अयोध्यापुरीमा जन्मिएका हुन् कि उत्तरप्रदेशको अयोध्यामारु योभन्दा ठूलो प्रश्न अतिक्रमित ७१ ठाउँका जनतालाई कसरी भारतीय फौजको प्रताडनाबाट मुक्त गराउने भन्ने हो।

चितवनको अयोध्यापुरीसँगै जोडिएको पारि नवलपरासीको सुस्ताका जनता आफ्नो खेतीसमेत भारतीयले जोतिरहेको टुलुटुलु हेर्न बाध्य छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा किरण दहालले लेखेका छन्।

भारतले सुस्तासहित ७१ ठाउँमा अतिक्रमण मात्र गरेको छैन, सीमा क्षेत्रका दशौँ हजार नेपालीलाई प्रताडित गरेको छ । भारतीय प्रहरीबाट अपहेलित नेपाली जनताको समस्या समाधान भएको छैन, प्रधानमन्त्री केपी ओलीले त्रेता युगका रामको जन्मभूमि नेपाल हो कि भारत भनेर नयाँ बहस जन्माएका छन्।

नारायणीपारि सुस्तामा तीन हजार नेपालीको बसोवास छ, तर धेरैसँग लालपुर्जा छैन, जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन् । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन्, कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइदिन्छन् । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन सधैँ आपत्विपत्मा छ।

सुस्ताका बासिन्दालाई देशको मूलधारसम्म जोड्ने एउटा पुलसमेत छैन । गाउँमा ६ कक्षाभन्दा माथि विद्यालय छैन, प्राथमिक उपचार गर्न हेल्थपोस्टसमेत छैन।

उज्यालो बाल्न बिजुली छैन र किनमेल गर्न बजार छैन । यी सबै आवश्यकताका लागि उनीहरू भारतमा निर्भर छन् । तर, तिनै भारतीयले सुस्तावासीको खेतबारी कब्जा गरेका छन्, घरवास उठाउन खोजेका छन् । नेपाल सरकार मौन छ।

नेपालको लालपुर्जा देखाउँदै सुस्ताका बासिन्दा ओमप्रसाद चौधरी भन्छन्, ‘आफ्नै खेतमा जान पाउँदिनँ, टाढैबाट हेरेर फर्कन्छु, एकैठाउँमा १५ जनाको ५७ बिघा जमिन छ । लालपुर्जा हामीसँगै छ, तर आफ्नै खेतमा जान पाउँदैनौँ । नम्बरी जग्गा हो, अहिले चौर भएको छ । कुनै दिन त्यो भूमि हाम्रै होला भन्ने आशा छ । नजिक जान त सक्दिनँ, टाढैबाट हेरेर फर्कन्छु।’

त्यस्तै स्थानीय बासिन्दा बेचनी यादव भन्छिन्, ‘नेपाली होस् भने नागरिकता देखा भन्छन्, हामीसँग छैन, नारायणीमा पुल छैन, त्यसैले नेपाली बजारमा होइन, भारततिर जानुपर्छ । नुन–चामल किन्न जाँदा भारतीय फौजले कुटपिट गर्छ, चामल पोखिदिन्छ । नेपाली होस् भने नागरिकता देखा भन्छन्, हामीसँग छैन । त्यसो भए कुन देशको नागरिक होस् भनेर अपहेलना गर्छन् । बिरामी भएर अस्पताल जान्छु भन्दा पनि फर्काइदिन्छन्।’

प्रधानमन्त्रीले जन्माए नयाँ वहस
रामजन्मभूमिको विषयमा भारतमा सात सय वर्षदेखि चलेको विवाद त्यहाँको सर्वोच्च अदालतबाट किनारा लागेको सात महिनापछि नयाँ बहस सिर्जना भएको छ । प्रधानमन्त्री केपी ओलीले रामको जन्मभूमि भारत उत्तरप्रदेशको अयोध्या होइन, वीरगन्जनजिकैको अयोध्यापुरी भएको दाबी गरेका छन् ।

‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ, मिचिएका छौँ, तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । तर, भारतलाई होइन, अयोध्यालाई दियौँ । अयोध्या भनेको वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो,’ भानुजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले सोमबार बालुवाटारमा गरेको कार्यक्रममा ओलीले भने ।

ओलीले उत्तरप्रदेशको अयोध्यामै राम जन्मिएको भए उनको बिहे जनकपुरकी सीतासँग सम्भव नहुने पनि दाबी गरे । ‘यहाँको जनकपुर, उहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या, कहाँ के छ । त्यसवेलाको जमानामा न टेलिफोन, न मोबाइल । कताबाट थाहा होस्, थाहा हुन पनि सक्दैनथ्यो । नजिकै भए सजिलैसँग कुरा हुन्थ्यो, तर यो इतिहास बहस गरिसाध्य छैन ।’

प्रधानमन्त्रीले भनेको अयोध्यापुरी चितवनको माडी नगरपालिकाको वडा नं. ८ मा पर्छ । तर, सो क्षेत्रमा वाल्मीकिको आश्रम भए पनि राम नै जन्मिएको भन्ने आफूहरूले अहिले मात्र सुनेको बताउँछन् नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल ।

‘पहिले त अयोध्यापुरीको नामबाट गाविस नै थियो । अहिले माडीको वडा नं‍. ८ मा छ । तर, यो नै रामजन्मभूमि हो भनेर अहिलेसम्म व्याख्या भएको सुनिएको छैन, त्यस्तो अध्ययन भएको छैन । त्यस्ता कुनै भग्नावशेष पनि छैनन् । तर, सरकारले अध्ययन गर्नु राम्रो हो,’ ढकालले भने।

माडीको वडा नं। १ मा वाल्मीकि आश्रम छ । वाल्मीकिले यहीँ बसेर रामायण लेखेको भन्ने मान्यता छ । मेयर ढकाल भन्छन्, ‘वाल्मीकि आश्रमलाई सबैले मानेका छन् । वाल्मीकिसँग सम्बन्धित विभिन्न आधार पनि यहाँ छन् । त्यसैले हरेक दिन दुई–चार सय यात्रु यहाँ आउँछन् ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad