समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।
गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन्।
समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको उनको जिकिर छ। पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णय अवैधानिक भन्दै उनले रिट दायर गरेकी हुन्।
समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन्।
लिम्पियाधुरा लगायतका अतिक्रमित क्षेत्र समेटि सरकारले नयाँ नक्सा प्रकाशन गरेपछि उनले त्यसको विरोध गरेकी थिइन्।
उनले निशान छाप सम्बन्धी संबिधान संशाेधन प्रस्ताव खारेज गर्न माग गर्दै संशाेधन हालेकी थिइन् भने पार्टीकाे ह्वीप उल्लंघन गर्दै संविधान संशाेधनकाे मतदान बहिष्कार गरेकी थिइन्।
समाजवादी दलले गठन गरेकाे छानबिन समितिले दिएकाे प्रतिवेदनका आधारमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिले उनलाई साधारण सदस्यसहित संसद सदस्यबाट हटाउने निर्णय गरेकाे हाे।

प्रतिक्रिया