पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ।
लक डाउनको अवधिमा मात्र ३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको भन्दै ज्ञापन पत्र बुझाएको हो।
नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लो हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ।
लक डाउनको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफैँमा अमानवीय कार्य भएकाले मुल्यवृद्धि तत्काल खारेज गर्न माग गरिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए।
नेविसंघले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको कर समेत खारेज गर्न माग गरेको छ।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने गरेको बताए। अहिलेको परिस्थितिमा निगमले वैकल्पिक उपाय अवलम्बन गरी मूल्यवृद्धि फिर्ता लिन उनले आग्रह गरे।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेविसंघले उठाएका विषयहरुप्रति ध्यानाकर्षण भएको बताए। मागहरु सकारात्मक भएको उल्लेख गर्दै उनले साना कुरालाई पनि विवादीत गरेर निगमलाई कमजोर बनाउने ठूलो तप्का लागि परेको बताए। उनले मुल्यवृद्धिलाई नियमित प्रकृयाको रुपमा लिन आग्रह समेत गरे।
निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै नेविसंघ अध्यक्ष ढुंगाना नेतृत्वको टोली निगम पुगेर ज्ञापन पत्र बुझाएको हो।

प्रतिक्रिया