ad ad

राजनीति


शैलेश थापा प्रहरी महानिरीक्षक नियुक्त हुँदै

शैलेश थापा प्रहरी महानिरीक्षक नियुक्त हुँदै

नेपालखबर
असार २३, २०७७ मंगलबार ९:२२,

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने तयारी गरेको छ।

मंगलबार दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ।

आईजीको दाबेदारका रुपमा थापासँगै एआईजी हरिबहादुर पाल पनि छन्। तर प्रधानमन्त्रीले थापाको निस्कलङक छवि र बरियतामा पनि अगाडी भएकाले थापालाई नै आईजी नियुक्त गर्ने तयारी गरेका हुन्।

यसपटक आईजी नियुक्तिमा गृहमन्त्री रामबहादुर थापाको चासो कम देखिएको छ। सर्वेन्द्र खनाललाई आईजीपी बनाउँदा गृहमन्त्री थापाले अडान नै लिएका थिए। तर यसपटक दुई मध्ये जो भएपनि फरक नपर्ने उनको बुझाई छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले यसअघि नवराज सिलवाललाई पहिलो नम्बरमा रहे पनि आईजी नबनाउँदा भएको बिबाद समेतको उदाहरण दिँदै थापालाई नियुक्त गर्ने तयारी गरेका हुन्।

त्यतिबेला पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाललाई नगरी तेश्रो नम्बरमा रहेका जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको उक्त निर्णय सर्वोच्चले समेत उल्ट्याइदिएको थियो। तर पछि सरकारले कार्यमुल्याँकनमा अगाडि रहेको भन्दै दोश्रो नम्बरमा रहेका प्रकाश अर्याललाई आईजी नियुक्त गरेको थियो।

अर्याल आईजी नियुक्त भएपछि नवराज सिलवालले प्रहरीबाट राजीनामा दिएका थिए। राजीनामा दिएका सिलवाल अहिले नेकपाको सांसद बनेका छन्।

प्रधानमन्त्री ओलीले यसलाई उदाहरण दिएको र थापालाई नै आईजी नियुक्त गर्ने तयारी गरेको बालुवाटार स्रोतले बतायो।

प्रहरीमा भर्ती हुँदा देखि नै पहिलो नम्बरमा रहेका थापा विजय गच्छदार गृहमन्त्री हुँदा पछि पारिए पनि त्यसपछि सधैं पहिलो नम्बरमै छन्।

थापाले यसअघिका पाँच जना आईजीसँग सचिवालयमा रहेर समेत काम गरिसकेका छन्।

डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्।

यसअघि ठाकुर ज्ञवालीलाई आईजीपी नियुक्त गर्दा पनि सरकारले वरियतालाई नै आधार बनाएको थियो। ज्ञवाली पहिलो नम्बरको डीआईजी थिए। उनलाई आईजी नियुक्त गर्दा प्रहरीभित्र निष्पक्ष निर्णय गरिएको चर्चा चलेको थियो।

२८ वर्ष २ महिना लामो प्रहरी सेवाका क्रममा थापाले उपत्यकाबाहिर सिन्धुपाल्चोक, धादिङ, कास्की र झापामा काम गरेका छन्। उनले धेरैजसो समय महानिरीक्षकको सचिवालय र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिताएका छन्।

पाँच महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमाण्डको कार्यान्वयनमा सफल मानिन्छन्। थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा गएका थिए।

बुधबार आईजी ज्ञवालीले ३० वर्षे सेवा हदका कारण अवकास पाउँदैछन्। उनको बिदाईका लागि प्रहरी प्रधान कार्यालयले बुधबार साँझ ५ बजेलाई कार्यक्रम तय गरिसकेको छ।

आज नियुक्त भएपछि थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरी संगठनको नेतृत्व गर्नेछन्। थापालाई आईजीपी नियुक्त गर्दा प्रहरीमा कुनै विवाद नहुने देखिएको छ। उनका प्रतिस्पर्धी समेत रहेका हरि पालले यसअघि नै दुई मध्ये जो भए पनि मिलेर काम गर्ने सहमती भइसकेको बताएका छन्।

भर्तीदेखि एआईजीसम्म नै पालभन्दा थापा अगाडि छन्। डीएसपी र एसपी बढुवामा थापा दोस्रो नम्बरमा परे पनि त्यसबाहेक थापा पहिलो नम्बरमा छन्।

डीएसपी बढुवा हुँदा पाल १३औं नम्बरमा थिए। त्यसपछि फड्को मारेका पालले डीआईजी बढुवा हुँदा थापा पछिको वरियतामा आएका थिए।

थापा र पालसँगै जागिर सुरु गरेका ६० जनामध्ये केही अहिले डीआईजी छन्। अरु एसएसपी र एसपीमा रोकिएका छन्।

हालकै व्यवस्था कायम रहे अरु दुईजना एआईजीसम्म पुग्ने सम्भावना छ। त्यो दौडमा डीआईजी निरज शाही र प्रद्युम्न कार्की छन्। अन्यले डीआईजी, एसएसपी र एसपीबाटै बिदा लिने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .