संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ब्लेम गेम’ र ‘प्रोक्सी वार’को अवस्थालाई अन्त्य गर्न सुझाव दिएको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले केही मन्त्री र पार्टीका स्थायी कमिटी सदस्यहरुलाई बोलाइ स्थायी कमिटीमा देखिएको विवादका विषयमा छलफल गरेका थिए। छलफलमा सहभागी भएका नेताहरुले पार्टीमा ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न पहलकदमी लिन सुझाव दिएको मन्त्री भट्टराईले बताए।
‘अहिले जुन पार्टीभित्र ब्लेम गेम चलिरहेको छ, प्रोक्सी वार चलिरहेको छ यसकाे अन्त्य गर्न हामीले सुझाव दिएका छौं। घटनाक्रमहरु हेर्दा पार्टीको उच्च नेतृत्वतहमा एउटा चरम संकट खासगरी विश्वासको संकट उत्पन्न भएको देखिन्छ। यसको समाधान पनि तपाईंहरुले आपसी सवांद र विमर्स बाहेक अन्यत्र खोज्न सकिदैन्’, उनले भने, ‘त्यसैले दुई अध्यक्षबीचमा, सचिवायलमा, स्थायी कमिटी र सिंगो केन्द्रीय कमिटी र पार्टीमा हार्दिक भावना विकास हुनुपर्यो, त्यसका निम्ति पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा तपाईंले नै ज्यादा पहलकदमी लिनुपर्यो भनेका छौं।’
उनले स्थायी कमिटीको बैठकलाई केही दिन रोकेर भए पनि सचिवालय बैठकमा छलफल गरी एउटा साझा धारणा बनाएर आउनसमेत सुझाव दिएको बताए। उनले विभिन्न कालखण्डमा मृत्युलाई जितेर आएका नेताहरुले समस्या हल गर्न नसक्ने र विभाजनतिर जाने हो भने इतिहासले लखेट्ने भएकाले सहमति र एकतालाई सुदृढ बनाएर जान सुझाव दिएको बताए।
‘मृत्युलाई जितेर आउने नेताहरुले आजका यी सानातिना समस्याहरुलाई हल गर्न सकिँदैन र हामी विभाजनतिर जान्छौं भन्ने हो भने तपाईंंहरुको योग्यतामाथि गम्भीर प्रश्न उठछ। तपाईंहरुलाई खाली कार्यकर्ताले मात्रै प्रश्न उठाउँदैनन जनताले प्रश्न उठाउँछन्, इतिहासले प्रश्न उठाउँछ र तपाईंहरुको मृत्युपछि, जीवनपछि पनि इतिहासले तपाईंहरुलाई लखेटिरहन्छ’, उनले भने ‘यो कदम कुनैपनि हालतमा नेकपालाई सैह्य हुँदैन। तपाईंहरु सचेत हुनुपर्यो, संवाद र छलफल गर्नुपर्यो। समाधान निकाल्नुपर्यो। त्यसमा हाम्रो सहयोग कहिं चाहिन्छ भने हामीलाई बोलाउनुहोस् भनेका छौं।’
मन्त्री भट्टराईले एकपल्ट आ–आफ्नो इतिहास पढेर समाधान निकाल्नतर्फ ध्यान दिनसमेत आग्रह गरिएको बताए। ‘एकपल्ट नेताहरुले आफ्नो इतिहास पढ्नुपर्यो, आफैँलाई बुझ्नुपर्यो, आफू कसरी आइयो? कुन जगबाट आइयो? कसरी सिंहदरबारमा शासन गर्न आइपुगियो? कसरी पार्टीको अध्यक्ष भइयो? वरिष्ठ नेता भइयो? त्यो एकपल्ट वहाँहरुले आफ्नो इतिहास खोतल्नुभयो भने समाधान निस्किन्छ, अनि अर्काका दुःख, पीडा पनि उहाँहरुले बुझ्नु भयो भने फेरी हामी एकै ठाउँमा हुन्छौं’, उनले भने।
हेराैँ भिडियो
मन्त्री भट्टराईले हिजोको बैठकमा नेताहरु प्रस्तुतका आधारमा वरिष्ठ नेताहरुको बीचमा नै आरोप प्रत्यारोप भएको स्पस्ट भइसकेको भन्दै यसले पार्टीलाई संवेदनशील बनाएकोले देशभरका कार्यकर्ताहरु स्तब्ध भएको बताए। ‘हिजोको बैठकमा पार्टीका वरिष्ठ नेतारुको बीचमा नै पार्टीका दुई अध्यक्षबीचमा, वरिष्ठ नेताहरुबीचमा र अरु स्थायी कमिटीका साथीहरुको बीचमा आरोप प्रत्यारोप गर्ने काम भयो र त्यसले बैठकलाई धेरै संवेदनशील पनि बनायो र सिंगो देशभरका पार्टी सदस्यहरु स्तब्ध भए नेपाली जनता स्तब्ध भए’, उनले भने, ‘यो अवस्थामा अब पार्टीलाई कसरी अगाडि बढाउने र हिजोको बैठकको सिन हेर्दाखेरी नेकपा आन्तरिक हिसाबले गम्भीर संकटमा छ भन्ने कुरा सहजरुपमा बुझिन्छ।’
मन्त्री भट्टराईले समस्याको समाधान पार्टी आफैँले गर्न सक्नुपर्ने बताए। अहिले उठेका समस्याहलाई हल गर्दै नयाँ जगमा फेरी पार्टीलाई एकतावद्ध बनाउनु पर्ने सुझाव दिएको उनले बताए। उनले पार्टी र सरकारबीचमा एकदमै समन्वायात्मक र घनिष्ट सम्बन्ध स्थापित हुनु पर्ने र सरकारले पार्टीलाई सहयोग र पार्टीले सरकारको अपनत्व लिनुपर्यो भन्ने सुझाव दिइएको बताए।
उनले सचिवालय बैठकमा छलफल गर्न र समाधान निकालेर प्रस्ताव ल्याउन सुझाव दिइएको बताए। उनले वरिष्ठ नेताहरुले तातो दिमागले नभई सबैले टाउकोमा बरफ राखेर छलफल गर्न समेत सझाव दिइएको बताए।

प्रतिक्रिया