नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले भारतले मिचेको नेपालको भू–भाग तत्काल फिर्ता ल्याउने तत्काल कूटनीतिक पहल सुरु गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको तेस्रो दिनको बैठकमा बोल्ने केही नेताहरुले भारतले मिचेको जमिन फिर्ताको लागि यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेर जानुपर्ने बताएका छन्।
सरकारले भारतले मिचेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि पहिलोपटक बसेको नेकपा स्थायी समिति बैठकमा जमिन फिर्ताको लागि अन्तर्राष्ट्रियकरण गर्न केही नेताले सुझाब दिएका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार नक्सा जारी त गरियो तर जमिन फिर्ता ल्याउन अन्तर्राष्ट्रियकरण नै गरेर अघि बढ्नुपर्ने आवाज उठेको हो।
‘नक्सा कार्यान्वयन गरियो अब जमिन फिर्ताको लागि अन्तर्राष्ट्रियकरण गरौं’, बैठकमा नेताहरुले नेतृत्वलाई दिएको सुझाब उल्लेख गर्दै ती नेताले भने। केही नेताहरूले सीमानाकाको व्यवस्थापनिमा नेपालले प्रयाप्त ध्यान दिनुपर्ने सुझाब समेत दिएका छन्।
‘नेपाल–भारत सीमासमस्या वार्ता र कूटनीतिक पहलबाट टुंगो लगाउनु पर्छ, केही साथीहरुले अन्तर्राष्ट्रियकरण गर्नुपर्ने पनि बताउनु भएको छ तर त्यो बेला नभएको अरु साथीह्रुको मत छ’ एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने।
शुक्रबारको बैठकमा अनुपस्थित भएपछि व्यापक आलोचना खेपेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारको बैठकमा ४० मिनेट सहभागी भएर निस्किएका थिए। स्वास्थ्यमा समस्या रहेको र सीमाकै विषयमा बोल्न बाकी रहेकोले बैठकमा आएर सल्लाह गरेरै उनी निस्किएको एक नेताले जानकारी दिए।
‘प्रधानमन्त्रीले स्वास्थ्यस्थिति त्यति अनुकूल नभएको जानकारी बैठकलाई दिएर जानुभएको हो’, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
आजको बैठकमा २१ जना नेताले आफ्नो धारणा राखेका थिए। प्रवक्ता श्रेष्ठका अनुसार आज देवेन्द्र पौडेले, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईँ, लेखराज भट्ट, मणि थापा, वामदेव गौतम, पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, ईश्वर पोखरेल, लेखराज भट्ट, शक्ति बस्नेत, योगेश भट्टराई, विष्णुपुकार श्रेष्ठ र पुष्प कँडेलले आजको बैठकमा बोलेका थिए।

प्रतिक्रिया