सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक तीन दिन चलेपछि असार १६ गतेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकको तेस्रो दिन शनिबार २१ जना नेताले आफ्ना धारणा राखेका छन्। बैठकमा रघु पन्तले राखेका धारणाको सारः
नेपाललाई नक्सा जारी गर्नैपर्ने बाध्यात्मक अवस्थामा भारतीय व्यवहारले पुर्याएको हो। हाम्रो भूमिमा वर्षौंदेखि भारतीय सेना आएर बसेको छ। भारतीय सेना फिर्ता जानुपर्छ भन्ने हाम्रो भनाई हो। हाम्रो भूमि खाली गरिनुपर्छ र हाम्रो नियन्त्रणमा आउनुपर्छ।
स्वतन्त्र, सुदृढ, सम्पन्न र आत्मनिर्भर नेपाल र नेपाली जनताको मात्र हैन भारतीयको समेत हितमा छ। स्वतन्त्र, सुदृढ र सम्पन्न नेपाल स्वयं भारतको हितमा छ र त्यसले उत्तरी सीमा सुरक्षाको ग्यारेन्टी गर्छ। केवल भारतको लागि मात्र हैन, स्वतन्त्र र सुदृढ नेपाल चीनको हित र दक्षिण तर्फको सीमा सुरक्षाको ग्यारेन्टी पनि हो। किनभने नेपालले आफ्नो भूमि कुनैपनि छिमेकी देश र मित्रराष्ट्रविरुद्ध प्रयोग गर्न दिएको छैन र दिँदैन।
नेपालमा भारत विरोधी भावना बढ्नुको मुलकारण भारतकै हेपाहा व्यवहार हो। भारतले नेपालप्रतिको आफ्नो व्यवहारमा परिवर्तन ल्याएर गुनासाहरू सुनेर तिनको सामाधान गर्यो भने नेपाली जनतामा रहेको भारत विरोधी भावना स्वतः सेलाएर जान्छ। नेपाललाई दबाब दिएर आफ्नो एकलौटी हित साँध्न खोज्ने र प्रभावमा राख्ने व्यवहार स्वयं भारतकै हितविरुद्ध छ। त्यसैले यस्तो व्यवहार भारतले गर्न छोड्नुपर्छ।
नेपाल र भारतबीच विद्यमान समस्याको समाधान वार्ताबाटै खोजिनुपर्छ। दुई देशबीच विद्यमान आशंका र अविश्वासलाई समाप्त पारेर वार्ताबाट समाधान खोज्ने कुरामा हाम्रो ध्यान केन्द्रीत हुनु जरुरी छ।
स्वतन्त्र नेपाल, भारत र चीनबीच हजारौं वर्षदेखिको सम्बन्ध विद्यमान छ। नेपालका तर्फबाट दुवै छिमेकी देश आफ्नो सुरक्षाको चिन्ता गर्नु नपर्ने अवस्थामा छन्। त्यसैले नेपालको शान्ति, सुव्यवस्था, समृद्धि र विभिन्न भौतिक आर्थिक सहयोगको लागि हाम्रा ठूला छिमेकीहरू उदार हुनुपर्छ।
नेपाल शान्ति क्षेत्र थियो, छ र भविष्यमा पनि रहनेछ। यसको लागि विश्वका धेरै देशले नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई विगतमा समर्थन दिएका थिए। नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई हामीले फेरि निरन्तरता दिँदा उपयुक्त हुन्छ जस्तो लाग्छ। त्यसैले यो विषयलाई कसरी अघि बढाउन सकिन्छ र के के फाइदा हुनसक्छ भनेर विज्ञहरुबीच छलफल सुरु गरौं।
हामीले हाम्रो सिमाना जोडिएका दुई छिमेकी देशलाई हामीप्रति आश्वस्त र विस्वस्त बनाउनु पर्छ। हामीले भारत र चीन दुवैका जायज गुनासा र सुरक्षा सम्बन्धी चासो लगायतलाई सुन्नुपर्छ। उनीहरुका भनाई र चाहना नेपाल र नेपाली जनताको विरुद्ध छैनन्, नेपालको राष्ट्रिय हितविरुद्ध छैनन् भने ती विषयलाई सम्बोधन पनि गरिदिनुपर्छ।
नेपाल र भारतको सम्बन्धलाई नेपालमा बढ्दो नवचेतना, नेपाली जनताको स्वाभिमान र २१औं शताब्दीको आवश्यकता अनुरुप पुनर्संरचना गर्नुपर्ने आवश्यकता भारतलाई बोध गराउनुपर्छ।

प्रतिक्रिया