नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानलाई मण्डले राष्ट्रवादी मानसिकताको संज्ञा दिएका छन्।
राष्ट्रियसभा बैठकमा बोल्दै देवले युपी र विहारसँग वैवाहिक सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकता मण्डले राष्ट्रवादी मानसिकता भएको बताए। नेकपाको अपरिपक्व निर्णयले मुलुकमा दंगा भड्किन सक्ने उनले बताए।
उनले भने, ‘विहार र यूपीसँगको वैवाहिक सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकता राख्ने? यो मधेश विरोधी मानसिकता हो। यो मण्डले राष्ट्रवादी मानसिकता हो। यो प्रतिक्रान्तिकारी मानसिकता हो। आग्रह गर्छु यो विषयमा पुर्नविचार गर्नुहोस्। भोलि नेकपा एकातिर कांग्रेस र मधेशवादी दलहरुलाई एकता भएर मुलुकलाई दुर्घटनामा लग्ने काम नगर्नुहोस्।’
नेकपाको निर्णयले साम्प्रदायिक द्वन्द भड्काउने र मुलुकलाई विभाजनतर्फ लैजाने उनले बताए। अहिलेसम्म दुवै छिमेकी मुलुकसँग समदुरीको सिद्धान्त भएपनि भारतसँग विभिन्न कारणले विशेष सम्बन्ध रहेको उल्लेख गर्दै उनले अहिले नेपालको परराष्ट्र नीति चीनमुखी भएको बताए।
युपी र विहारमा मधेशीको सम्बन्ध योजनाबद्ध ढंगले तोड्ने नेकपाको मानसिकता रहेको उनले टिप्पणी गरे। नेपाल भारतको सम्बन्ध कुनै पार्टीले स्थापना गरेको नभइ यो सताब्दीदेखी संस्कृति र जनताले स्थापना गरेको उनले बताए। उनले भारतलाई कट गरेर चिनियाँ झोलामा नेपाललाई लैजाने नेकपाको निर्णयले भोली राजनीतिक दुर्घटना हुने र सँगै जेल जानुपर्ने अवस्था आउने बताए।
कम्युनिष्ट पार्टीले मुलुकमा आगो लगाएर सामन्तवादीहरुलाई मलजल गर्ने काम भइरहेको भन्दै उनले भने, ‘वीरगञ्जदेखि राजविराजसम्म जुलुस निस्केको छ। कांग्रेसजस्तो पार्टी, मधेशवादी दललाई यसरी हेप्ने? कांग्रेसलाई हेपेर मधेशी दललाई हेपेर यो मुलुकमा एक्लै सञ्चालन गर्न सम्भव छ त्यो? राजनीतिक दुर्घटना हुन्छ यो मुलुकमा सहमति नतोड्नुहोस्।’
आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अंगीकृत नागरिकता सात वर्षपछि मात्रै दिने प्रस्ताव बहुमतले पारित गरेको थियो । जसमा कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले फरक मत राखेका थिए।

प्रतिक्रिया