राजनीति


जनकपुरधाम उपमहानगरपालिकाको बैठकमै धक्कामुक्की

जनकपुरधाम उपमहानगरपालिकाको बैठकमै धक्कामुक्की

शैलेन्द्र महतो
असार ८, २०७७ सोमबार १२:३४,

जनकपुरधाम उपमहानगरपालिकाको बैठकमै धक्कामुक्की भएको छ।

सोमबार दिउँसो १ बजे बोलाइएको योजना तर्जुमा समितिको छलफल बैठकमा मेयर पक्ष र केहि वडाध्यक्ष पक्षबीच धक्कामुक्की भएको हो।

छलफलको लागि दिउँसो १ बजे नै बोलाइएपनि सो बैठकमा मेयर लालकिशोर साह दुईघण्टा ढिलो आएर एक्कासी माइन्यूटमा हस्ताक्षर गर्न दबाब दिएपछि दुईपक्षबीच धक्कामुक्की भएको वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए।

‘हामीलाई पूर्वजानकारी नै नदिइ आज एकाएक दिउँसो १ बजेको लागि योजना तर्जुमा समितिको छलफल बैठक डाकियो। जबकी कम्तिमा २४ घण्टा पहिले जानकारी गराउनु पर्ने हो।

तर पनि हामी वडाध्यक्षहरु १ बजे नै आएर बसिरहेका थियौं। मेयर साहेब ३ बजे आएर एक्कासी माइन्यूटमा सहि गर्न भनेपछि विवाद भयो’ वडाध्यक्ष साहले भने।

बैठक अघिदेखि नै मेयर उपमेयरले नेपाल प्रहरी र नगरप्रहरी तैनाथ राखेको उनको भनाइ छ।

आफ्नो मनमर्जी योजना तर्जुुमा पास गर्न नियोजित रुपमा वडाध्यक्षहरुमाथि हातपातको प्रयास भएको उनले आरोप लगाए।

धक्कामुक्कीमा वडा नं. १० का वडाध्यक्ष मिथिलेश कर्ण लडेका थिए भने केहिलाई समान्य चोटपटक लागेको बताइएको छ।

यता उपमहानगरपालिकाकी उपमेयर रीता झाले बैठकमा वडा नं. ७ का वडाध्यक्ष जानकी रमण साहले माइन्यूट च्यातेपछि विवाद सृजना भएको बताइन्।

‘असार ९ गते मंगलबार पूर्वनिर्धारित नगरसभाका लागि सोमबार कार्यपालिकाको बैठक बोलाइएको थियो। त्यसमा मस्यौदा पेस गरी छलफल गर्ने योजना थियो। तर पहिले नै किन मस्यौदा उपलब्ध गराइएन भन्दै वडा नं ७ का वडाध्यक्ष जानकी रमण साहले माइन्यूट च्यातेपछि विवाद भयो।’ उपमेयर झाले नेपालखबरसंग भनिन् ‘त्यसैमा अर्का वडाध्यक्षहरुले माइन्यूट किन च्यातेको भनेपछि विवाद भयो।’

उनले समय नमिलेको कारण समयमै वडाध्यक्षहरुलाई बजेटसम्बन्धी मस्यौदा नगरपालिकाले उपलब्ध गराउन नसकेको समेत स्वीकार गरिन्। विवाद भएपछि मंगलबार डाकिएको नगरसभा हुने वा नहुने अन्योल भएको छ।

बैठकमा मेयर लालकिशोर साह, उपमेयर रीता झासहित २५ वटै वडाका वडाध्यक्षहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad