प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विधेयकले निजी क्षेत्रलाई समस्या पारेको भए छलफल गर्न तयार रहेको बताएका छन्।
सोमबार प्रधानमन्त्री कार्यालयमा नेपाल उद्योग परिसंघका प्रतिनिधिसँगको छलफलमा निजी क्षेत्रलाई समस्या पर्ने गरी ऐन नआउने जनाएका हुन्।
प्रस्तावित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ ले उद्यमी व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा समस्या रहेको भए कुन दफामा के अप्ठ्यारो परेको हो, त्यसको स्पष्ट जानकारी प्रस्तुत गर्न परिसंघलाई प्रधानमन्त्रीको सुझाव दिएको परिसंघले जनाएको छ।
प्रस्तावित विधेयकले निजी क्षेत्रलाई समस्यामा पार्ने भए छलफलका माध्यमबाट त्यसको समाधान गर्न सकिने धारणा प्रधानमन्त्रीले राखे।
परिसंघले निजी क्षेत्रको पुनरुत्थानसम्बन्धी दिएका विभिन्न सुझावमाथि धारणा राख्दै अनौपचारिक क्षेत्रको निष्क्रिय पुँजी परिचालन गर्ने सुझाव राम्रो रहेकोले चेकबाट कारोबार गर्न प्रोत्साहन गर्ने र गलत तरिकाबाट आर्जन गरेको पुँजीलाई निरुत्साहित गर्ने धारणा व्यक्त गरे।
त्यसैगरी रुग्ण उद्योगहरुलाई सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन र व्यवस्थापन गर्नको लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको धारणा राखे। कोभिडको कारण विदेशबाट फर्किनेहरुको लागि रोजगारीका क्षेत्र विस्तार गर्न सरकारले निजी क्षेत्रसँग मिलेर अगाडि बढ्ने उनले बताए।
छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले वर्तमान अस्थामा उद्योगले भोग्नुपरेका समस्या र त्यसको समाधानका उपायहरुको बारेमा प्रधानमन्त्रीलाई अवगत गराएका थिए।
परिसंघले विशेषगरी कर्जाको ब्याज कम गरिनुपर्ने, सम्पूर्ण कर्जाहरुको पुनरसंरचना गरिनुपर्ने, हालै प्रस्ताव गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेस्रो संशोधन विधेयक, २०७६ ले निजी क्षेत्रलाई उद्योग व्यवसाय सञ्चालनमा निरुत्साहित गर्ने भएकोले त्यसलाई फिर्ता लिनको लागि प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको थियो।
त्यसैगरी बन्दाबन्दीको समयमा श्रमिकको ज्याला सम्बन्धमा पनि सरकारबाट निजी क्षेत्रको लागि स्पष्ट धारणा नआएकोले उद्योगी व्यवसायीहरु सस्यामा परेको प्रधानमन्त्रीसमक्ष जानकारी गराएको थियो।
छलफलमा प्रधानमन्त्रीका वरिष्ठ राजनीतिक सल्लाहकार विष्णु रिमाल, परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल, निर्वाणा चौधरी र विरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।

प्रतिक्रिया