नेपाल वायुसेवा निगमको कार्गो प्रयोजनको लागि चैत १५ मा भएको चार्टर्ड उडानको भाडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नदिने भएको छ।
वायुसेवा निगमले चीनको ग्वान्झाउबाट चार्टर्ड उडानमा स्वास्थ्य सामग्री ल्याएको थियो। स्वास्थ्य मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै भाडा दिनुपर्ने अडान राख्दै आफूले दिन नसक्ने बताएको हो।
निगमले उडानमा कबोलअनुसार चार्टर्ड रकम १ लाख ५३ हजार ८ सय ५० अमेरिकी डलर र चीनमा ग्राउण्ड ह्याण्डलिङमार्फत लागेको ४४ हजार एक सय ६७ युआन लागत रकमको हिसाब देखाएको छ। उक्त लागत पाउन पर्यटन मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयलाई पत्र समेत निगमले लेखिसकेको छ।
उक्त भुक्तानी कुन निकायले गर्ने विषय अन्योलमा छ। स्वास्थ्य मन्त्रालयको आग्रहमा उक्त उडानको प्रबन्ध पर्यटन मन्त्रालयले गरेको थियो।
अहिले स्वास्थ्यले उक्त भुक्तानी दिन नसक्ने जानकारी गराएको छ।
स्वास्थ्य सेवा विभागका डा. दिपेन्द्र रमन सिंहले पर्यटनले नै उक्त भुक्तानी दिनुपर्ने बताए। आज संसदीय सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले पर्यटन मन्त्रालयले नै वायुसेवा निगमको भुक्तानी गर्नुपर्ने बताएका हुन्।
तर लेखा समितिले भने यसको भुक्तानी स्वास्थ्य मन्त्रालय तथा मन्त्रालयअन्तर्गतको कुनै निकायले दिनुपर्ने बताएको छ।
आजको छलफलमा सभापति भरत शाहले निगमले काम गरिसकेको भन्दै यो विषय अन्योल नबनाई भुक्तानी दिनुपर्ने बताए।
उनले भने, ‘निगमजस्तै काम गर्ने निजी कम्पनीलाई चाहिँ तुरुन्त भुक्तानी गर्ने सरकारले निगमलाई भने अहिलेसम्म रोक्नु शंकास्पद छ।’

प्रतिक्रिया