माहामारीपछि विश्व ‘नेतृत्व बिनाको ठूलो अस्तव्यस्थताको समय’तर्फ बढ्ने जेफ्रीले बीबीसीसँगको कुराकानीमा बताए।
दुई महाशक्तिको बिभाजनले यस अवस्थालाई झनै जटिल अवस्थामा पुर्याउने उनले चेतावनी दिएका छन्।
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक रहेका साक्सले चीन र अमेरिकाबीचको अवस्था बिग्रनुमा अमेरिकी प्रशासन जिम्मेवार भएको पनि आरोप लगाएका छन्।
‘अमेरिका विभाजन निम्त्याउने एउटा शक्ति हो’ उनले भनेका छन्,‘अमेरिका त्यस्तो शक्ति हो जसले चीनसँग नयाँ शीतयुद्ध सिर्जना गर्न प्रयास गर्दैछ। यदी त्यो भयो भने विश्व सामान्य जीवनमा फर्कँदैन, हामी वास्तवमा अझ ठूलो विवाद र खतरामा प्रवेश गर्नेछौं।’
व्यापार बाहेक अन्य कयौँ मुद्दामा अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अर्थशास्त्री साक्सको पछिल्ला टिप्पणी आएको हो।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको सिन्जियाङमा मुस्लिमहरूमाथि दमनमा संलग्न भनिएका चिनियाँ अधिकारीहरूविरुद्ध प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गर्दै वैधानिकता प्रदान गरेका थिए।
द वाल स्ट्रीट जर्नलसँगको एउटा अन्तर्वार्तामा ट्रम्पले आर्थिक प्रतिस्पर्धालाई अस्थिर बनाउनका निम्ति चीनले अन्तर्राष्ट्रिय रूपमा कोरोना भाइरस फैलाउन प्रोत्साहित गरेको हुन सक्ने बताएका थिए।
ट्रम्प प्रशासनले चिनियाँ कम्पनीहरुलाई पनि निशाना बनाउँदै आएको छ। चिनियाँ दूरसञ्चार कम्पनी हुवावेलाई अमेरिकाले जासुसीको माध्यम बनेको आरोप लगाएको छ। चीन र हुवावे दुवैले अमेरिकी आरोप अस्वीकार गर्दै आएका छन्।
अमेरिकाका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो नयाँ किताबमा उल्लेख गरेअनुसार चीन र ह्वावेईप्रति ट्रम्पले लिएको कडा अडान पुनः निर्वाचित हुने एउटा रणनीति हुनसक्छ।
हुवावेलाई ट्रम्पले निशाना बनाउनुमा सुरक्षासम्बन्धी चिन्ता मात्रै नभएकोमा प्राध्यापक साक्स सहमत देखिन्छन्।
‘फाइभ–जी प्रविधि विकासको सन्दर्भमा अमेरिका पछि पर्यो जुन नयाँ डिजिटल अर्थतन्त्रको एउटा महत्त्वपूर्ण हिस्सा हो। हुवावेले यसमा विश्वभर प्रभुत्व जमाएको छ’ उनी भन्छन्,‘मेरो विचारमा अमेरिकाले हुवावे विश्वका लागि एउटा खतरा हो भन्ने कुराको बहाना बनाइरहेको छ। र हुवावेसँग सम्बन्ध तोड्नका निम्ति उसले आफ्ना साझेदारहरूको सहयोग चाहिरहेको छ।’ बीबीसी
Shares

प्रतिक्रिया