जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी निर्णय गलत भएको बताएका छन्।
शनिबार नेकपाले नेपाली पुरुषसँग विवाह गरेर आउने अन्य देशका महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो।
आइतबार नेकपाको निर्णयमाथि प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नेकपाको निर्णय विवेकहीन, साम्प्रदायिक र विभेदकारी भएको प्रतिक्रिया दिएका हुन्।
अध्यक्ष यादवले नागरिकता प्राप्ति गर्ने प्रक्रियामा पुरुष र महिला अर्थात् बुहारी र ज्वाईबीच असमानता र विभेद हुन नहुने बताए।
‘कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने विवेकहीन, सम्प्रदायिक र विभेदकारी निर्णय गरेको छ’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष यादवले ट्विट गरेका छन्, ‘नागरिकता प्राप्ति गर्ने प्रक्रियामा पुरुष र महिला अर्थात् बुहारी र ज्वाईबीच असमानता र विभेद हुनुहुहुन्न।’
कम्युनिष्ट पार्टी ( नेकपा)को सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगिकृत नागरिकता दिने विवेकहीन,सम्प्रदायीक र विभेदकारी निर्णय गरेको छ। नागरिकता प्राप्ति गर्ने प्रक्रीयामा पुरुष र महिला अर्थात बुहारी र जूवाई बीच असमानता र विभेद हुनुहुहुन्न I
— Upendra Yadav (@upendrayadavjee) June 21, 2020नागरिकता संशोधन विधेयकका लामो समयदेखि संसदमा विचाराधीन रहेको छ। पटक-पटक यसका प्रावधानहरुमा छलफल भएपनि सहमति जुट्न सकेको छैन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउँदै आएका छन्। अहिलेको प्रावधानअनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले बिहेलगत्तै नागरिकता पाउने प्रावधान छ।
विधेयक अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ। समितिमा अहिले अंगीकृत नागरिकताको विषयमा नै छलफल भइरहेको छ। समितिको छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय मागेका छन्।

प्रतिक्रिया