राजनीति


मेलम्चीको पानी परीक्षणको काम असारमै हुने

मेलम्चीको पानी परीक्षणको काम असारमै हुने

नेपालखबर
असार ३, २०७७ बुधबार ११:४७,

खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छन्। बुधबार राष्ट्रियसभामा सांसदहरुको प्रश्नको उत्तर दिँदै मन्त्री मगरले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताए।

उनले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराए। पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले नै गर्ने उनको भनाइ थियो। उनले भने, ‘पानी घरघरमा पुग्ने कुरामा शंका गर्नुपर्ने अवस्था छैन।’

सो आयोजना समयमा सम्पन्न नहुँदा काठमाडौँवासी मात्रै नभएर सबै नेपाली निरास बनाएको उनको भनाइ थियो। आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निरासा देखिएको उनको भनाइ थियो। आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदूरको आन्दोलन लगायतका समस्या आएको मन्त्री मगरले बताइन्। अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ। उनले भनिन्, ‘सबै चुनौती भए पनि आगामी आवको शुरुमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ।’

मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टिनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यो कार्यान्वयनमा लागेको मन्त्री मगरले बताए। अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उनको भनाइ छ।

खानेपानी तथा सरसफाइ विधेयक सदनमा छलफलका क्रममा रहेको र यसै अधिवेशनबाट पारित हुने उनले विश्वास व्यक्त गरिन्। उनले सरकारले तय गरेको १५औँ योजनामा सबैमा खानेपानी पुग्ने लक्ष्य लिइएकामा आगामी आवको अन्त्यसम्म ९४ प्रतिशत आधारभूत खानेपानी पु¥याउने र ३२ प्रतिशतमा मध्यम तथा उच्चस्तरको स्तरको खानेपानी पु¥याउने गरी बजेट विनियोजन गरी सोही अनुसार कार्यक्रम कार्यान्वयन हुने बताइन्।

मन्त्री मगरले सबै घरधुरीमा शौचालय पुगेर नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेकाले अहिले यसको निरन्तरता स्थानीय तहले दिइरहेको बताए। तीनै तहको सरकारको समन्वयमा पूर्ण सरसफाइ उन्मुख कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ। प्रदेश र स्थानीय तहसँग योजना तथा कार्यक्रमसँग दाहोरोपना नहुने गरी मन्त्रिपरिषद्ले भौगोलिक विकटतालाई हेरेर तराईमा १५ हजार, पहाडमा पाँच र हिमाली क्षेत्रमा एक हजार जनसङ्ख्यासम्म लक्षित कार्यक्रम मन्त्रालयबाट सञ्चालन हुने निर्णय गरेको उनले बताइन्। त्यसभन्दा कम जनसङ्ख्या लक्षित कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुनेछ।

विगतका अधुरा आयोजनामध्ये क्रमागत आयोजनालाई निरन्तरता दिइएको उनको भनाइ थियो। खानेपानी चरम अभाव रहेका स्थानलाई प्राथमिकता दिएर क्षेत्रीय सन्तुलन मिलाइएको छ। मन्त्रालयले अभाव रहेका सुक्खा क्षेत्रमा ‘लक्षित जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना’ सञ्चालन गरेको छ।

मन्त्रालयले आगामी आवमा नयाँ कार्यक्रमअन्तर्गत जिल्ला सदरमुकाम, स्थानीय तहको प्रशासनिक केन्द्र, पहाडी तथा दुर्गम क्षेत्रका बजारमा लक्षित आयोजनाका लागि बजेट विनियोजन गरेको छ। ती आयोजना आगामी तीन वर्षमा सम्पन्न हुनेछन्। मध्यम तथा ठूला शहरमा चौबिस घण्टा पानी मिलाउने १४ मध्यम तथा ठूला शहरमा आयोजना सम्भाव्यता अध्ययन भएको छ। यी आयोजनामध्ये आगामी आवमा पाँच आयोजनाको विस्तृत अध्ययन गरिने उनले बताइन्।

एकीकृत खानेपानी तथा सरसफाइ आयोजना विभिन्न शहरमा सम्भाव्यता अध्ययन गरी आगामी आवमा पाँच आयोजनामा विस्तृत आयोजना अध्ययन गरिने मन्त्री मगरले बताइन्। तराई मधेशमा जनसङ्ख्या अनुरुप भूमिगत पानी घटिरहेकाले ठूला नदीमा आधारित थोक वितरण प्रणाली सञ्चालन गरिने मन्त्री मगरले जानकारी दिइन्। त्यस क्षेत्रमा आर्सेनिक समस्या समाधान गर्न हाल प्रदेशबाट कार्यान्वयन भइरहेका आयोजना सम्पन्न गर्न बजेट विनियोजन भएको छ। मन्त्रालयले खानेपानी सेवा नपुगेका बस्ती तथ्यांक संकलन गरी खानेपानी सरसफाइ स्वच्छता अभियान वास योजना तयार गर्ने उनले बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad