चिनियाँ विदेशमन्त्री वाङ यीले सीमामा द्वन्द्व बढाउने भारतीय सैनिकलाई कारबाही गर्न समकक्षी एस जयशंकरसँग आग्रह गरेका छन्।
सोमबार लद्दाखमा दुई मुलुकका सैनिकबीच रक्तपातपूर्ण झडप भएपछि दुई मुलुकका विदेशमन्त्रीबीच बुधबार फोनवार्ता भएको थियो।
चिनियाँ विदेश मन्त्रालयले जनाएअनुसार सो वार्तामा वाङले जयशंकरलाई सीमामा द्वन्द्व बढाउन जिम्मेवार सैनिकलाई कारबाही गर्न भनेका हुन्।
एक महिनाअघिबाट सुरु भएको तनाव रक्तपातमा बदलिएपछि भारत र चीन दुवै द्वन्द्व मत्थर पार्न जुटेका छन्। उनीहरुबीच विभिन्न स्तरमा वार्ता भइरहेको छ।
बुधबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना जवानहरुको बलिदान खेर नजाने बताएका छन्। यद्यपि दुवै देशले शान्तिका लागि प्रयास गरिररहेको बताएका छन्।
सोमबारको झडपमा कम्तीमा २० भारतीय सैनिकको ज्यान गएको बताइएको छ। यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।
चीनले आफ्नोतर्फ भएको क्षतिबारे भने कुनै जानकारी दिएको छैन। एजेन्सी

प्रतिक्रिया