राष्ट्रिय युवा संघ, नेपालले केन्द्रीय विभाग र आयोगको एकता टुंग्याएको छ। युवा संघको एकता गर्न गठित कार्यदलले दिएको सुझाव अनुसार विभाग र आयोगको एकता सम्बन्धी काम टुंग्याइएको हो।
युवा संघका सहसंयोजक रमेश पौडेलले ३१ विभागमा १६ विभाग तत्कालीन युवा संघ र १५ विभाग तत्कालीन योंग कम्युनिस्ट लिग (वाईसीएल)को भागमा परेको बताए।
उनका अनुसार तत्कालीन युवा संघलाई संगठन, महिला, आर्थिक, प्रकाशन, योजना तथा अनुसन्धान, कृषि, विज्ञान तथा प्रविधि, खेलकूद, पेशागत, वित्त तथा सार्वजनिक, स्वास्थ्य, सामाजिक सेवा र प्रकृति प्रकोप तथा विपद् व्यवस्थापन, प्राकृति स्रोतसाधन, न्याय तथा कानून र इभेन्ट म्यानेजमेन्ट विभाग परेको छ।
यस्तै वाईसीएललाई कार्यालय, प्रशिक्षण, विदेश, प्रचार, विकास निर्माण, उत्पादन तथा समृद्धि निर्माण, सहकारी, शिक्षा, श्रम तथा रोजगार, पर्यटन, उद्योग विभाग रहेका छन्। यस्तै घाइते, अपांग तथा योद्धा विभाग, कला संस्कृति तथा स्वमयसेवक, वन तथा वातावरण र मानवअधिकार विभाग रहेको छ।
सहसंयोजक पौडेलले २१ सदस्यीय विभागका संयोजक र सहसंयोजक भागमा परेको तत्कालीन संगठनले टुंग्याउने बताए। संयोजक र सहसंयोजक फरक–फरक संगठनले पाउने छन् ।
यसैगरी लेखा आयोग र निर्वाचन आयोग तत्कालीन युवा संघले तथा अनुशासन आयोग र विशेष प्रदेश कमिटी तत्कालीन वाईसीएलको भागमा गरेको छ। आयोग ४५ सदस्यीय हुने छ। युवा संगका संयोजक रामप्रसाद सापकोटाले अव प्रदेश कमिटीमा मात्र एकता टुंग्याउन बाँकी रहेको बताए।
उनले प्रदेश कमिटीसँगै जिल्ला इन्चार्ज र सह–इन्चार्ज पनि चाँडै नै बाँडफाँड गरिने बताए। २०७६ जेठ ३ गते दुई संगठनबीच एकता घोषणा भएको थियो। एकतापछि युवा संघको ३३५ सदस्यीय कमिटी रहेको छ। रासस

प्रतिक्रिया