ad ad

राजनीति


भारतीय पूर्वविदेशमन्त्री भन्छन् : कोरोना संकटबीच पनि नेपालसँग वार्ता गर्न भारत तयार हुनुपर्छ

भारतीय पूर्वविदेशमन्त्री भन्छन् : कोरोना संकटबीच पनि नेपालसँग वार्ता गर्न भारत तयार हुनुपर्छ

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ९:१,

भारतका पूर्व विदेशमन्त्री यशवन्त सिन्हाले केहि समययता नेपाल र भारतबीच बिग्रँदो सम्बन्ध सुधारका लागि भारतले अग्रसरता लिनुपर्ने बताएका छन्।

भारतीय जनता पार्टीबाट विगतमा पटकपटक मन्त्री बनेका सिन्हाले दुवै देशले कोरोना महामारी सामना गरिरहेका बेला द्विपक्षीय सम्बन्धमा दुश्मनी सिर्जना गर्नेगरी गतिबिधि गर्नु अनुचित भनेका छन्।

उनले दक्षिण एसियाका मुलुकहरुबीच सम्बन्ध प्रगाढ बनाउने पहलकदमीको नेतृत्व भारतले नै लिनुपर्ने बताएका छन्।

‘तर दुर्भाग्य, नेपालसँगका पछिल्ला गतबिधि त्यसको विपरित छन्। त्यसकारण भारत र नेपालबीचको द्विपक्षीय सम्बन्ध निकै संकटपूर्ण बिन्दूमा पुगेको छ र दुवै मुलुकले एउटा मानवीय संकट बेहोरिरहेका बेला यस्तो भएको छ,’ उनले भारतीय सञ्चारमाध्यम द हिन्दूमा लेखेका छन्।

भारतले गतमहिना नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक सञ्चालनमा ल्याएपछि नेपालले त्यसको कडा विरोध जनाउँदै आएको छ। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सो सडक उद्घाटन गरेका थिए।

उनले सो उद्घाटनका क्रममा गरेको घोषणा र त्यसका लागि रोजिएको समयले धेरैलाई अचम्ममा पारेको उनले बताएका छन्।

याे पनि: नेपालसँग कोभिड–१९ पछि मात्र संवाद हुने बताएको भारत अरु देशहरुसँग भने निरन्तर वार्तामा

‘यो समयमा भिडियो कन्फ्रेन्समार्फत् यति अर्जेन्टका साथ त्यहि भूमि भएर सो सडक परियोजना उद्घाटन गरिन्छ भनेर कसैले सोँचेको पनि थिएन,’ अर्का लेखक अतुल के. ठाकुरसँग संयुक्त लेख प्रकाशित गर्दै उनले भनेका छन, ‘सो घोषणा गरेलगत्तै नेपाल सरकार, त्यहाँका जनता र राजनीतिक खेलाडीहरु सबैलाई उच्च सतर्कताको अवस्थामा पुर्‍यायो।’

त्यसो त उनले नेपाल सरकारले दिएको कडा प्रतिक्रियालाई पनि अनपेक्षित भनी टिप्पणी गरेका छन्। ‘त्यो सडक बर्षौंदेखि बनिरहेको थियो र त्यहाँ भइरहेको गतिबिधिबारे थाहै नभएजस्तो गर्नुमा कुनै तुक छैन,’ सो लेखमा भनिएको छ।

नेपालले पटकपटक वार्ता गर्न प्रस्ताव गर्दा पनि भारतको विदेश मन्त्रालयले मिति नतोकी लकडाउनपछि बस्ने बताएको उल्लेख गर्दै उनले ‘भिडियो कन्फ्रेन्समार्फत् वार्ता किन गर्न सकिदैन?’ भनी प्रश्न उठाएका छन्।

उनले प्रधानमन्त्री ओलीका भनाईहरुलाई भने गैरगुटनीतिक टिप्पणीको संज्ञा दिएका छन्।

उनले भारतीय सेनाप्रमुखको भनाईका कारण पनि विवादलाई अनावश्यकरुपमा भड्काएको बताएका छन्।

उनले नेपाल र भारतबीचको बिग्रदो सम्बन्धलाई तुरुन्त सम्बोधन गर्नुपर्ने र त्यसका लागि कुटनीतिक संवाद नै जतिसक्दो छिटो सुरु गर्नुपर्ने उनको भनाई छ।

२०७२ सालमा भारतले नाकाबन्दी गर्दा जस्तो परिस्थिति फेरि दोहोरिन नहुनेमा सचेत गराइएको छ।

‘कोरोना संकटकै बीच पनि वार्ता गर्न भारत हिच्किचाउनु हुँदैन,’ उनले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .