नेकपाकी सांसद नविना लामाले अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानको मर्म र नेकपाको घोषणा पत्र विपरित बजेट ल्याएको आरोप लगाएकी छन्।
आइतबार संसद बैठकमा बोल्दै उनले अर्थमन्त्रीले चुनाव लड्न नपर्ने भएकाले शिक्षा सम्बन्धी केही प्रावधान पार्टीको समाजवादी नीति विपरित ल्याएको आरोप लगाइन्। सामूदायिक विद्यालयको व्यवस्थापन निजी विद्यालयलाई दिने प्रावधान प्रति उनले आपत्ति जनाइन्।
सांसद लामाले भनिन्, ‘यो नेपाली जनाताले रगतसँग साटेको संविधान विपरित छ। संविधानको मर्म विपरित छ। नेपाली विद्यार्थी आन्दोलनको भावना कुठाराघात गरेको छ। त्यतिमात्रै होइन नेकपाको विचारधारा र हामीले भन्दै आएको समाजवाद विपरित छ। नेकपाको शिक्षा नीति विपरित छ।’
नेपालको संविधानको धारा ३१ ले सबै नागरिकले निशुल्क शिक्षा पाउने हक सुनिश्चित गरेको स्मरण गराउँदै उनले बजेट पुस्तिकाको १६६ बुँदामा उल्लेखित विषय नेकपाको शिक्षानीति विपरित भएको टिप्पणी गरिन्।उनले अर्थमन्त्रीले सरकार र नेकपा पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गरेको आरोप लगाइन्। सांसद लामाले चुनावमा नलड्ने भएरै अर्थमन्त्रीले पार्टीको विचार लत्याएको बताइन्।
उनले भनिन् ‘शायद अर्थमन्त्रीज्यू चुनावमा लड्नुहुन्न भनेर होला पार्टी र सरकारको विचारधारालाई संकटमा पार्न हुँदैनथ्यो।’
नेपालको संविधान र पार्टीको चुनावी घोषणा पत्र दुवै कोणमा च्युत भएको भन्दै उनले शिक्षामन्त्री र अर्थमन्त्रीले सदनमा आत्माआलोचना सहित माफि माग्नुपर्ने बताइन्। संविधान र पार्टीको चुनावी घोषणा पत्रमा समाजवाद राज्य व्यवस्था निर्माण गर्ने कुरा उल्लेख भएको भन्दै उनले ‘नेकपाको समाजवादको शिक्षानीति यही हो?’ भनी प्रश्न पनि गरिन्।
शिक्षामन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपुर्ण आएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न माग गरिन्।

प्रतिक्रिया