लकडाउनलाई खुकुलो बनाउन काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिभिन्न सुझाव दिएका छन्।
अब अहिलेकै अवस्थामा लकडाउन थेग्न नसकिने निस्कर्ष निकाल्दै विस्तारै सहज बनाउने बाटो रोज्न प्रमुख अधिकारीहरुले सरकारलाई सुझाव दिएका हुन्।
बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले अहिलेसम्मको लकडाउनको अवस्था समीक्षा गर्दै नयाँ रणनीतिको बारेमा सरकारलाई सुझाव दिएका हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहालले भने, ‘हामी समस्या पनि सेयर ग¥यौं, हामी सबैको निस्कर्ष भनेको अब कार्यविधि बनाएर सहज बनाउनुपर्छ भन्ने हो।’
प्रमुख जिल्ला अधिकारीले उच्चस्तरीय समितिमा अनुरोध गर्ने र उच्चस्तरीय समितिको प्रस्तावमा मन्त्री परिषद्ले निर्णय गर्नेछ।
‘लकडाउनका बीचमा व्यवसायीका पनि धेरै खालका माग आएका छन्, पसल खोल्न व्यवसाय गर्न पाउनु पर्यो भन्ने माग आएका छन्। बिभिन्न पेशा व्यवसाय गर्नेहरुले पनि यो अलि कठिन भयो यसलाई सहज बनाउनु पर्यो भन्ने कुरा आएको छ। यसमा तीन जिल्लाको एउटै धारणा बनाएका हौं,’ प्रजिअ दाहालले भने।
उनले सधैं बन्दका बन्द हुँदा भोकमरि होला, महामारी होला त्यो भएकाले सहजीकरण गर्नु पर्छ भन्ने बताएका जानकारी दिए।
‘व्यवसायीका कुरा पनि सुन्न परो। समय तोकेर खोल्ने कि बार तोकेर खोल्ने भन्ने कार्ययोजना बनाउनुपर्छ।’
सुरुमा पुरै लकडाउन गरेको सरकारले पछि ४४ प्रकारका व्यवसाय सुचारु गर्ने निर्णय गरेको थियो।
सरकारले पछिल्लो पटक जेठ ३२ सम्म लकडाउन गर्ने निर्णय गरेपनि लकडाउनलाई कुन रुपमा लैजाने भन्ने निर्णय गर्न सकेको छैन।
अब लकडाउनलाई कस्तो रुपमा लैजाने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पनि विज्ञहरुसँग छलफल गरेका थिए।
बिहीबार ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दै छ। बैठकले लकडाउनको स्वरुप तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया