भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफूहरुले दाबी गर्दै आएको भूमिमा ठूलो संख्यामा चिनियाँ सेना प्रवेश गरेको स्वीकारेका छन्।
गएको तीन सातादेखि लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच तनाव बढिरहेको खबर प्रकाशित भइरहेका थिए। तर, यसबारे औपचारिक रुपमा दुवै देशको नेतृत्वले केही बताएको थिएन।
मंगलबार एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा सिंहले चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) पार गरेपछि त्यसलाई रोक्न आफूहरुले आवश्यक कदम चालेको बताए।
यद्यपि भारतले कस्तो कदम चालेको हो, त्यो उनले खुलाउन चाहेनन्।
‘यसबारेमा ६ जुनमा दुवै देशका सैन्य अधिकारीहरुबीच वार्ता हुँदैछ,’ उनले सीएनएन न्युज १८ सँगको अन्तर्वार्तामा भनेका छन्।
पछिल्लो समय लद्दाख क्षेत्रमा दुवै देशले सेना र हतियारको संख्या पनि बढाएका छन्।
केही भारतीय सञ्चारमाध्यमले १९९९ मा कार्गिलमा पाकिस्तानले भारतनियन्त्रित भूमि कब्जा गरेजस्तै लद्दाखमा चीनले भूमि कब्जा गर्ने अवस्था उत्पन्न भएको रिपोर्ट समेत प्रकाशित गरेका थिए।
केही दिनअघि भारतीय सैनिकहरुले चिनियाँ सेनाको ट्रक नियन्त्रणमा लिएको र चिनियाँ सेनाले घाइते भएका भारतीय सैनिकहरुलाई कब्जामा लिएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा बाहिरिएका थिए।
तर, भारतीय सेनाले ती तस्बिर र भिडियो आधिकारिक नभएको बताएको थियो। एजेन्सी

प्रतिक्रिया