राजनीति


कोरोनाविरुद्ध लड्न केन्द्र सरकारले कुनै सहयोग गरेनः मुख्यमन्त्री राउत

कोरोनाविरुद्ध लड्न केन्द्र सरकारले कुनै सहयोग गरेनः मुख्यमन्त्री राउत

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ११:७,

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीविरुद्ध लड्न केन्द्र सरकारले समन्वय नगरेको आरोप लगाएका छन्।

अहिलेसम्म प्रदेश सरकारले आफ्नै बलबुतामा कोरोनाविरुद्ध काम गरिरहेको भन्दै केन्द्र सरकारले प्रदेश २ लाई बेवास्ता गरेको गुनासो गरेका छन्।

‘हाम्रो प्रदेशका स्थानीय तहलाई सोधिदिनुस् केन्द्र सरकारले के सहयोग गरेको छ? त्यतिबेला तपाईंले जवाफ पाउनु हुनेछ– शून्य,’ श्रम रोजगार पत्रकार समूहले गरेको भिडियो कन्फ्रेन्समा मुख्यमन्त्री राउतले भने।

अहिलेसम्म जति काम भएको छ यो सबै प्रदेश र स्थानीय तहकै जोडबलमा भएको मुख्यमन्त्री राउतले बताए।

‘हामीले सेना, प्रहरीसँग मिलेर क्वारेन्टिन तयार गरेका छौं, अस्पताललाई प्रदेशले नै बजेट दिएको छ, हरेक स्थानीय तहलाई हामीले नै रकम दिएका छौं,’ उनले भने।

अहिलेसम्म केन्द्र सरकारले प्रदेश २ मा के आवश्यक छ भनेर एक पटक पनि सम्पर्क नगरेको मुख्यमन्त्री राउतले बताए। स्थानीय तहले आफैं क्वारेन्टिन तयार गर्दा मापदण्ड अनुसारको नभएको भन्दै धर्मशाला र सरकारी संरचनामा बेड हालेर काम चलाएको बताए।

जनशक्ति र श्रोत साधनकै अभावका कारण व्यवस्थित क्वारेन्टिन तयार गर्न नसक्दा त्यहाँबाटै संक्रमण फैलिने खतरा रहेको उनको भनाइ थियो।

‘संघका न कुनै मन्त्री, सचिवले फोन गरेका छन्। न कुनै सहयोग पठाएका छन्। सुरुमा पीपीई र परीक्षण किट पठाए पनि त्यो पर्याप्त भएन,’ मुख्यमन्त्री राउतले भने, ‘विभागका डीजी र मन्त्रालयका कर्मचारीलाई पनि आफैं फोन गरेर सोधिरहेको छु।’

विदेशबाट प्रदेश २ मा झण्डै १० लाख मान्छे फर्किने भन्दै तिनको व्यवस्थापन चुनौतीपुर्ण रहेको उनले बताए। भारतबाट मात्रै ५ लाख युवा फर्किने उनको अनुमान छ। अन्य देशबाट तीन देखि ५ लाख युवा फर्किने मुख्यमन्त्री राउतले बताए।

‘कमाउन गएका युवा त्यहाँ खुट्टा राख्न नपाएर घर फर्किने हो, हामी उनीहरुलाई स्वागत गर्छौं,’ उनले भने, ‘हाम्रो श्रोतले भ्याएसम्म गर्ने हो। केन्द्र सरकारले हेरेको छैन हामीले कसलाई भन्ने?’

जसको कमाइले नेपालमा चिल्ला गाडी चढेका छन् उनीहरुलाई देश फर्किने अवरोध गर्न नमिल्ने मुख्यमन्त्री राउतले बताए।

‘प्रदेश २ का सबै जिल्लामा खुल्ला सीमा रहेका कारण जहाँबाट पनि प्रवेश गर्ने अवस्था छ। सरकारले तोकेकै ठाउँबाट भारतबाट फर्किनेलाई व्यवस्थित तरिकाले फर्काइने छ र स्थानीय तहको जिम्मा लगाइने छ,’ उनले भने।

केन्द्र सरकारलाई सहयोग माग गर्दै पत्र पठाए पनि बेवास्ता गरेको बताए। प्रदेश सरकारसँग मिलेर छुट्टै संरचना मार्फत समन्वयमा काम गर्नु पर्ने मुख्यमन्त्री राउतले बताए।

वैदेशिक रोजगारीबाट युवाहरु फर्किएपछि प्रदेश २ मा कृषि उत्पादन बढ्ने मुख्यमन्त्री राउतको अपेक्षा छ।

‘कोही भारत, कोही अन्य देश जाँदा यहाँ सामान्य खेती भएकाहरु पनि काम गर्न छाडिसकेका छन्, अब विदेशबाट फर्किएपछि कृषिको काम गर्छन्, उत्पादन बढ्ने अवस्था हुन्छ’, मुख्यमन्त्री राउतले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad