चीनले विश्वका सर्वोच्च शिखर सगरमाथाको हवाई गुरुत्वाकर्षण मापन गरेको छ। चीनले सो क्षेत्रको पहिलो पटक गुरुत्वाकर्षण मापन गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्।
‘उचाइको मापन गर्ने विभिन्न विधिहरु मध्ये यो पनि एक हो,’ नापी विभागअन्तर्गत सगरमाथा उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले नेपालखबरसँग भने।
चिनियाँ सञ्चार माध्यमहरुले यस क्षेत्रको गुरुत्वाकर्षणसम्बन्धी तथ्यांक नभएको जनाएको छ। पदार्थअनुसार गुरुवात्कषर्ण शक्ति फरक हुन्छ। कुनै पनि वस्तुको घनत्व कति छ भनेर पत्ता लगाउन गुरुत्वाकर्षण मापन गर्ने गरिन्छ।
यसमा विमानमा गरुत्वको मापन गर्ने यन्त्र राखेर निश्चित उचाइबाट विमानलाई समानान्तर रुपमा पटक पटक उडाएर गरुत्वाकर्षण वलको मापन यसमा गरिने त्रिभुवन विश्वविद्यालयका भूगर्भ विभागका उप प्राध्यापक सुबेश घिमिरेले बताए। 'त्यस क्रममा विभिन्न स्थानको गरुत्वाकर्षण वलको नाप गरिन्छ' घिमिरेले भने।
नेपाल र चीन दुवै देशले सगरमाथाको उचाइ मापन गर्दै आएका छन्। नेपालको भन्दा चीनले सगरमाथाको उचाइ चार मिटर कम रहेको बताउँदै आएको छ। नेपालले ८ हजार ८ सय ४८ मिटर र चीनले ८ हजार ८ सय ४४ मिटर भन्ने गरेको छ।
चीनले हिउँको भागलाई उचाइमा समावेश गरेको छैन। २०७२ सालको भूकम्पले सगरमाथाको पारेको असरको कारणपनि उचाइको मापनको गर्नुपर्ने विषय उठ्दै आएको थियो।
गत साता मात्रै चिनियाँ सर्वेक्षकहरुको टोलीले सगरमाथाको आरोहण गरेको थियो।

नेपालका तर्फबाट सन् २०१७ डिसेम्बरबाट मापन सुरु गरिएको थियो।
‘हामीले पराम्परागत र आधुनिक दुवै विधिको प्रयोग गरेर सगरमाथाको मापन गर्दै आएका छौं,’ डंगोलले भने, ‘मापनको अन्तिम चरणमा छौँ। असार मसान्तभित्र मापनको काम सम्पन्न गर्नेगरी काम भइरहेको छ।’
नेपालले सन् २०१८ फेब्रुअरीको सिराहाको माडरबाट भूस्थल सर्भे सुरुवात गरेको थियो।
नेपालले सन् २०११ मा देशभरको हवाई गुरुत्वाकर्षण मापन गरेको थियो।
सन् २०११ मा गरिएको हवाइ गुरुत्वाकषर्ण र भर्खरै गरेको स्थलीय गुरुत्वाकर्षण मापनलाई आधार बनाएर काम गर्ने तयारी भइरहेको संयोजक डंगोलले बताए।
दोलखा, सोलुखुम्बु, संखुवासभा, रामेछाप, ओखलढुंगा, खोटाङ, भोजपुर, सिन्धुली, उदयपुर, महोत्तरी, धनुषा, सिराहा र सप्तरीको स्थलीय गुरात्वाकर्षण मापन गरिएको थियो।
‘चीनबाट पनि मापनको विषय हामीले सञ्चार माध्यमबाट हेरिरहेका छा्रैँ। तर हाम्रो प्राविधिक टोलीसँग उनीहरुको सम्पर्क भने छैन,’ संयोजक डंगोलले बताए।

प्रतिक्रिया