अफ्रिकी (काला जाति) मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्या नै गरिएको पुष्टि भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आधिकारिक पोस्टमार्टम रिपोर्टले उनको ‘होमोसाइड’ अर्थात् मानव हत्या नै भएको पुष्टि गरेको हो।
गत मे २५ मा अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलसस्थित प्रहरी हिरासतमै फ्लोइडको मृत्यु भएको थियो। त्यसअघि उनलाई पक्राउ गर्ने क्रममा गोरा जातिका प्रहरी अधिकारीले घुँडाले उनको घाँटीमा लामो समय थिचेको भिडियो सार्वजनिक भएको थियो।
पक्राउ गर्ने क्रममा प्रहरीले घाँटी थिचेर फ्लोइडलाई कार्डिक अरेस्ट भएको देखिएको पोस्टमार्टमा रिपोर्टमा उल्लेख छ।
‘पक्राउ गर्ने क्रमको क्रुरता तथा घाँटी थिचिँदा भएको कार्डियोपल्मोनरी अरेस्ट’ का कारण उनको मृत्यु भएको रिपोर्टले पुष्टि गरेको छ।
फ्लोइडको परिवारले गरेको पोस्टमार्टमा रिपोर्टले पनि उनको हत्या नै भएको पुष्टि गरेको थियो।
फ्लोइड मृत्युलगत्तै अमेरिकामा सुरु भएको आन्दोलन दिनप्रतिदिन चर्किंदै गएको छ। अमेरिकाका ४० भन्दा बढी सहरमा विरोध प्रदर्शन भइरहेका छन्। त्यस क्रममा झडप, हत्या, हिंसा, तोडफोड र आगजनी पनि भइरहेका छन्।
पछिल्ला केही दशकयताकै यो ठूलो प्रदर्शन भइरहेको अमेरिकी अधिकारीले बताएका छन्।
याे पनि: अमेरिकामा हिंसात्मक प्रदर्शन नरोकिएपछि ट्रम्पले भनेः अब सेना परिचालन गर्छु

प्रतिक्रिया