रास्वपाकी नेता समीक्षा बाँस्कोटाले पार्टीको नेतृवमा रवि लामिछाने, बालेन्द्र शाह र स्वर्णिम वाग्लेको नाम टुंगिसकेको बताएकी छन्।
तीन दिनदेखि चितवनमा जारी रास्वपाको प्रथप महाधिवेशनको बन्द सत्र आज सुरु हुँदैछ।
बन्द सत्रको पूर्वसन्ध्यामा बाँस्कोटाले पार्टी सभापतिमा लामिछाने, वरिष्ठ नेतामा शाह र उपसभापतिमा वाग्लेको नाम टुंगिसकेको बताएकी हुन्।
‘उहाँहरूको नाम सर्वसम्मत रुपमा नेतृत्वका लागि टुंगिसकेको छ,’ बाँस्कोटाले नेपालखबरसँग भनिन्, ‘त्यसबाहके अरु पदमा हामीबीच स्वस्थ प्रतिस्पर्धा हुँदैछ।’
उनले बन्द सत्रमा भएको ढिलाईलाई ठूलो विषय मान्न नहुने बताइन्। ‘बन्द सत्रमा केही ढिलाई भएको छ। यो ठूलो काम गर्दा सानातिर कमजोरी भएका मात्रै हुन्,’ उनले भनिन्, ‘बन्द सत्रमा हिजो भएको कमजोरीबाट पाठ सिकेर अब बन्द सत्र अघि बढ्छ।’
उनले पार्टीको नीति, नेतृत्व र नियत ठिक हुनुपर्ने बताइन्।
‘पार्टीको नीति ठिक छ, नेतृत्व पनि ठिक छ, त्यसको नियत पनि ठिक छ,’ उनले भनिन्, ‘अब नेतृत्वको नियत पनि ठिक भएपछि सबै कुरा ठिक हुन्छ। परिवर्तन गर्ने हुटहुटी छ नेतृत्त्वमा। अबको २० वर्ष पार्टीले देशको नेतृत्व गर्छ।’
बाँस्कोटा विवेकशील साझाबाट चुनावअघि मात्रै रास्वपामा प्रवेश गरेकी नेता हुन्।
उनले पार्टीको टप लेवलमा सर्वसम्मत हुने र अरु नेतृत्वमा लोकतान्त्रिक ढंगबाट स्वस्थ प्रतिस्पधाबाट क्षमतावान नेतृत्व आउने विश्वास व्यक्त गरिन्।
जनताले अहिले व्यवस्था नभएर देशको अवस्था परिवर्तन गर्न चाहेको भन्दै त्यो जनचाहना रास्वपाले बुझेको बताइन्।
पहिला आफूले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनको भनाई छ। ‘केन्द्रीय सदस्य टुंगिएपछि मात्रै पदाधिकारीमा चुनाव हुने भएकाले म आफू पहिला खुलाबाट केन्द्रीय सदस्यमा लड्दै छु।’
उनका समर्थकले महाधिवेशनस्थल बाहिर बाँस्कोटालाई पार्टी उपसभापतिको रुपमा प्रचार गरिरहेका छन्। त्यसप्रति उनले भनिन्, ‘पहिला केन्द्रीय सदस्यमा लड्छु। पहिलोचरण पार गरेपछि मात्रै दोस्रो चरणको कुरा गरौँला।
उनले पार्टीमा सही नेतृत्वको लागि आफ्नो प्रयासरत रहेको बताइन्।
‘जसले जिते पनि घण्टीबाहकले जित्ने हो,’ उनले भनिन्, ‘म विवेकशील साझाको पहिलो निर्वाचित अध्यक्ष हो। बाहिर उपाध्यक्षमा मेरो पनि प्रचार भएको छ। मलाई उपाध्यक्षमा देख्न चाहनेको आकांक्षा हुनसक्छ त्यो।’
निर्वाचनबाट केन्द्रीय सदस्यमा छुटेका पुराना विवेकशील साझाका साथीहरू सभापतिले गर्ने मनोनितमा पर्ने विश्वास पनि उनले व्यक्त गरिन्।
भिडिओ
Shares

प्रतिक्रिया