एक पाकिस्तानी किसानले आफ्नो परेवा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको भन्दै सुरक्षित रुपमा फिर्ता गर्न आग्रह गरेका छन्।
सोमबार भारतीय सीमा सुरक्षा बल (बीएसएफ)ले पाकिस्तानले पठाएको जासुसी परेवा समातेको बताएको थियो।
तर पाकिस्तानको सीमावर्ती गाउँ बग्गा सकरगढका बासिन्दा हबिबुल्लाहले आफूले पालेको मध्ये एउटा परेवा भारतीय सेनाले समातेको बताएका छन्। उनले सो परेवा जासुस नभएको स्पष्ट पारेका छन्।
उनले परेवा ‘प्रोटोकलअनुसार र सम्मानपूर्वक’ फिर्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
बग्गा गाउँका बासिन्दाले पाल्तु परेवा पक्राउको विरोध गर्दै सीमा क्षेत्रमा दिल्लीको विरोधमा नाराबाजी गरेको समेत बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यो परेवा एक महिलाको घरमा प्रवेश गरेको थियो। परेवाको खुट्टामा धातुको रिङ पनि बाँधिएको थियो।
हबिबुल्लाहले सो रिङमा आफ्नो मोबाइल नम्बर लेखिएको पनि बताएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया