राजनीति


पराजित गराइएका पूजा र ध्रुबलाई रास्वपा केन्द्रीय सदस्यमा जिताइयो

पराजित गराइएका पूजा र ध्रुबलाई रास्वपा केन्द्रीय सदस्यमा जिताइयो

सागर न्यौपाने
असार १५, २०८३ सोमबार २१:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पराजित गराइएका दुई जनालाई जिताइएको छ। पूजा बास्तोला र ध्रुब थापामगरलाई केन्द्रीय सदस्य निर्वाचित गराइएको हो।

सोमबार बसेको रास्वपा निर्वाचन आयोगको बैठकले दुवै जनालाई केन्द्रीय सदस्य निर्वाचित भएको निर्णय गरेको हो। आयोगका एक सदस्यका अनुसार त्रुटि सच्याइएर निर्वाचन आयोगमा मंगलबार बुझाइने छ।

रास्वपा चितवनको भरतपुरमा असार ७ देखि १२ सम्म चलेको प्रथम महाधिवेशनअन्तर्गतको बन्दसत्रमा केन्द्रीय सदस्य तथा पदाधिकारीको निर्वाचन भएको थियो।

तर, केन्द्रीय सदस्यमा बढी मत पाएर पनि बास्तोला र थापा केन्द्रीय सदस्य निर्वाचित भएका थिएनन्। जसप्रति असन्तुष्टि जनाउँदै बास्तोलाले सर्वोच्च जाने घोषणा गरेकी थिइन्।

पूजाले गण्डकी भूगोल र प्रवाससमेत गरी ९१३ मत पाएकी थिइन्। तर उनीभन्दा कम ल्याउने उम्मेदवारलाई निर्वाचित घोषणा गरिएपछि उनले कानुनी बाटो अपनाउने निर्णय गरेकी थिइन्।

थापाले भने आफ्नो नाम समावेशीतिर आउनुपर्नेमा खुलामा राखिएको भन्दै पार्टीमा उजुरी दिएका थिए।

‘पूजा बास्तोला र ध्रुब थापा मगरलाई केन्द्रीय सदस्यमा ल्याउने निर्णय भएको छ,’ आयोगका ती सदस्यले नेपालखबरसँग भने, ‘टप मत पाउनेबाट ल्याउँदा पूजाजी आउनेनै हुनुहुन्थ्यो। प्राविधिक गडबडी भएको रहेछ। ध्रुबको हकमा उनले थापा मात्र लेखेछन् मगर नलेख्दा उनको नाम परेनछ।’

रास्वपाको खुला र क्लस्टर मिलाएर ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवथा छ। आफ्नो नाम क्लस्टरमा नपरेपछि ध्रुबले पार्टीकै निर्वाचन आयोगमा निवेदन दिएका थिए। ‘निवेदन हेर्दा आदिवासी जनजाति कोटामा उहाँ पर्नुहुँदो रहेछ,’ ती सदस्यले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad