राजनीति


बालेनलाई साम्पाङको कटाक्ष- राम्रो लुगा लगाएर मात्र राम्रो मान्छे बनिँदैन

बालेनलाई साम्पाङको कटाक्ष- राम्रो लुगा लगाएर मात्र राम्रो मान्छे बनिँदैन

नेपालखबर
असार ५, २०८३ शुक्रबार १२:१३, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार र सभामुखको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले प्रतिपक्षको आवाज नसुनी सत्तापक्ष अगाडि बढेको भन्दै संसदको ध्यानाकर्षण गराए। उनले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति सच्याउन माग गर्दै आफूहरूले १६ दिनदेखि प्लेकार्डसहित सदनमा विरोध जनाइरहेको स्मरण गराए।

प्रधानमन्त्री शाहले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द संसद्को अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेको लामो समय भइसक्दा पनि कुनै सुनुवाइ नभएकोमा आपत्ति प्रकट गरे। 

प्रधानमन्त्री शाहप्रति कटाक्ष गर्दै साम्पाङले भने, ‘सरकार र सभामुखले प्रतिपक्षको माग नसुन्ने हो भने हामी जिम्मेवार बन्न सक्दैनौँ। मान्छे राम्रो लुगा लगाएर वा चिलो गाडी चढेर मात्र बन्दैन, उसमा नैतिकता र जवाफदेहिता हुनु अनिवार्य छ।’

उनले बजेट निर्माण र वितरणको प्रक्रियामा देखिएको प्राविधिक तथा व्यवस्थापकीय कमजोरीको पनि कडा आलोचना गरे। रक्षा मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) उपलब्ध नगराई छलफल सकिएकोमा प्रश्न उठाउँदै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको जवाफदेहिता खोजे। 

यस्तै, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट विनियोजनमा पनि अङ्कगणितीय त्रुटी देखिएको उनको भनाइ छ। पाँच अर्बभन्दा बढीको बजेटमा एक अर्ब ६१ करोडको मात्र स्पष्ट विवरण देखिएको र बाँकी चार अर्ब ३२ करोडभन्दा बढी रकमको ब्रेकडाउन अपारदर्शी रहेको उनले बताए। यस्तो गम्भीर त्रुटि गर्ने छुट सरकारलाई नभएको उनको तर्क थियो। 

सांसद साम्पाङले भारतको पटनामा नौ सय जना नेपाली नेटवर्किङ व्यवसायको प्रलोभनमा परी बन्धक बनाइएको सूचना प्राप्त भएको जानकारी गराए। नेपालीको मोबाइल फोन जफत गरी कुटपिट गर्ने र नियन्त्रणमा राख्ने काम भइरहेको भन्दै उनले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए। 

स्वदेशी श्रम शक्ति विदेश पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सरकारलाई ठोस योजना ल्याउन सुझाव दिए। सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी बढाएर युवालाई स्वदेशमै रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad