कांग्रेस सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र अदृश्य गिरोहले शासन चलाइरहेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद बुढाले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राखेर ‘जङ्गलीराज’ चलाउन खोजेको आरोप लगाएका हुन्।
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ घण्टासम्म राखेर दबाब दिएको भन्दै विरोध गरे।
‘अख्तियारका अधिकारीहरूलाई ९ घण्टासम्म सिंहदरबारमा राखेर विशेष व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिइएको छ भन्ने सुनिन्छ, यो विधिको शासन हो कि जङ्गलीराज?,’ प्रश्न गर्दै उनले भने, ‘अख्तियार कुनै प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्र होइन, यो संवैधानिक अङ्ग हो। यसको काम नै आवश्यक परेका बेला सरकारमाथि निगरानी राख्ने र राज्य शक्तिमा ‘चेक एण्ड ब्यालेन्स’ कायम गर्ने हो।’
उनले भ्रष्टाचारका कुनै पनि घटना अनुसन्धानमा कांग्रेसले बाधा नपुर्याउने दाबी गरे।
‘भ्रष्टाचार गर्ने व्यक्ति कांग्रेसको नेता होस् वा कुनै अरु दलका, पूर्व प्रधानमन्त्री हुन् वा वर्तमान पदाधिकारी( कानुनभन्दा माथि कोही छैन। तर, परिणाममा पुग्ने प्रक्रिया विधिसम्मत र कानुन बमोजिम हुनुपर्छ,’ उनले भने।
प्रधानमन्त्री संसद्को सामना गर्नबाट डराएएको आरोप लगाउँदै उनले भने, ‘जुन संसद्ले प्रधानमन्त्री बनायो, त्यही संसद्लाई प्रधानमन्त्रीले उपेक्षा गरिरहनुभएको छ। बजेटको प्रश्न होस् वा सीमाको विषय, प्रधानमन्त्री संसद्मा आएर जवाफ दिन चाहनुहुन्न। यो संसद्लाई मात्रै सिङ्गो देशका नागरिकलाई हेपेको हो।’
Shares

प्रतिक्रिया