कारोबार


काठमाडौँ–पोखरासहितका महानगरमा फाइभजी ‘फ्लेवर’ दिन टेलिकम तयार

काठमाडौँ–पोखरासहितका महानगरमा फाइभजी ‘फ्लेवर’ दिन टेलिकम तयार

उन्नत सापकोटा
असार ५, २०८३ शुक्रबार ११:६, काठमाडौँ

सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले फाइभजीका लागि चाहिने स्पेक्ट्रम पाउनेबित्तिकै देशका महानगरपालिकाहरूबाट सेवा ‘रोलआउट’ गर्न तयार रहेको दाबी गरेको छ। 

टेलिकमले झण्डै चार वर्षअघि काठमाडौं, पोखरा र वीरगन्जमा फाइभजीको आन्तरिक परीक्षण गरेको थियो।

यसका लागि ती स्थानमा करिब ५ वटा साइटमार्फत टेलिकमले फाइभजीको आन्तरिक परीक्षण गरेको थियो। परीक्षणमार्फत टेलिकमले मुख्यगरी व्यावसायिक रूपमा फाइभजी फाइदाजनक हुन्छ वा हुँदैन भन्ने विषयमा जाँचेको थियो। 

तर, त्यतिबेला टेलिकमका लागि फाइभजी व्यावसायिक रूपमा सम्भव देखिएन। 

‘त्यतिबेलाको इकोसिस्टममा फाइभजी इनेबल्ड ह्यान्डसेट ज्यादै न्यून थियो। जसका कारण पब्लिकलाई त्यतिबेला परीक्षण गर्दा फाइभजीको फ्लेवर दिन सकेनौँ। जसका कारण हाम्रा कर्मचारीमा मात्रै परीक्षण सीमित गर्‍यौँ’,  टेलिकमका उपप्रबन्धक इन्जिनियर राजेन्द्र दुलालले नेपालखबरसँग भने, ‘त्यतिबेलाको अध्ययन रिपोर्टअनुसार फाइभजी पेनिट्रेसन ५ प्रतिशत मात्रै थियो। तर, आजको दिनमा फाइभजी ह्यान्डसेट पेनिट्रेसन हेर्छौँ भने कुल ग्राहकको २० प्रतिशत नाघिसकेको छ।’

टेलिकमले गत वर्ष नै फाइभजी प्रविधि भित्र्याउन वर्कआउट पनि गरेको उनको भनाइ छ।

कम्तीमा पनि देशका महानगरपालिकामा फाइभजी रोलआउट गर्न टेलिकम तयार देखिएको छ। इन्जिनियर दुलालले आफूहरू फाइभजी रोलआउट गर्न अब स्पेक्ट्रमको पर्खाइमा मात्रै रहेको बताए। 

‘हामी अब फाइभजी पनि सिटी एरियाबाटै सुरु गर्न खोजिरहेका छौँ। त्यसका लागि फ्रिक्वेन्सीको नयाँ ब्यान्ड लिएर जानुपर्छ भनिरहेका छौँ। पर्खाइ स्पेक्ट्रमको मात्रै हो। अहिलेको स्पेक्ट्रमबाट होइन कि नयाँ स्पेक्ट्रमबाट फाइभजी चलाउन जरुरी छ। फाइभजी भन्नेबित्तिकै ठूलो ब्यान्डविथ हुन्छ। ग्लोबल इकोसिस्टममा फाइभजीका लागि जस्तो किसिमको स्पेक्ट्रम चलिरहेको छ त्यही किसिमबाट नेपालमा टेलिकमलाई उपलब्ध गराउनुपर्छ भन्ने मत टेलिकमको छ। यसले हरेक फाइभजी ह्यान्डसेट टेलिकमको नेटवर्कमा कम्प्याटिबल हुन्छ’, दुलालले थपे।

टेलिकमले आगामी आर्थिक वर्ष २०८३/८४ को आफ्नो बजेट तथा कार्यक्रममा काठमाडौं, पोखरासहित अरु सहरहरुमा डेटाको स्पिड बढाउने गरी फाइभजीको फ्लेवर ल्याउने तयारी गरिरहेको छ।

फ्रिक्वेन्सी पाउनेबित्तिकै योजनाअनुसारका स्थानहरूमा फाइभजी रोलआउट गर्न टेलिकम तयार रहेको उनको भनाइ छ। देशैभर फाइभजी लैजान भने खर्च उठ्ने ग्यारेन्टी भए मात्रै सम्भव हुने टेलिकमको बुझाइ छ। 

टेलिकमले २६०० मेगाहर्जमा फाइभजी परीक्षण गरेको थियो। तर, अहिलेसम्म टेलिकम वा निजी क्षेत्रकै कम्पनी एनसेललाई फाइभजीका लागि स्पेक्ट्रम उपलब्ध गराइएको छैन।

स्पेक्ट्रम अक्सनको तयारी भइसक्यो : दूरसञ्चार प्राधिकरण
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने फाइभजीलाई लक्षित गर्दै स्पेक्ट्रम वितरणको तयारी सकिसकेको बताएको छ।

रेडियो फ्रिक्‍वेन्सी निर्धारण समितिबाट फाइभजीका लागि छुट्याइएको ब्यान्डमा स्पेक्ट्रम वितरण गर्न तयारी सकिसकेको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। 

‘यदि टेलिकम अपरेटर फाइभजी रोलआउट गर्न तयार छन् भने अक्सनको माध्यमबाट फ्रिक्‍वेन्सी वितरण गर्न प्राधिकरण अगाडि बढेको छ। प्राधिकरण यसका लागि रेडी नै छ। नयाँ प्रविधि भित्र्याउन आवश्यक छ। त्यसलाई सहजीकरण गर्न प्राधिकरण तयार छ’, अर्यालले भने। 

हाल प्राधिकरणको सञ्चालक समिति र अध्यक्ष पद रिक्त रहेकाले यससम्बन्धी काम अघि बढ्न नसकेको प्राधिकरणका अधिकारी बताउँछन्। नयाँ अध्यक्ष र बोर्डले पूर्णता पाएपछि फाइभजीको लागि आवश्यक फ्रिक्‍वेन्सीको अक्सन गराउने योजनामा प्राधिकरण छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad