कारोबार


नेपालमा हुवावेले गरेको काममाथि कुनै प्रश्न उठ्न नहुनेमा सञ्चारमन्त्रीले गराए सचेत

नेपालमा हुवावेले गरेको काममाथि कुनै प्रश्न उठ्न नहुनेमा सञ्चारमन्त्रीले गराए सचेत

नेपालखबर
असार ४, २०८३ बिहिबार १८:७, काठमाडौँ

नेपालमा हुवावेले गरेको काममाथि कुनै प्रश्न उठ्न नदिन सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सचेत गराएका छन्।

चिनियाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले प्रश्न उठ्न नदिई काम गर्न आग्रह गरेका हुन्। 

नेपालमा हुवावेले लामो समयदेखि दूरसञ्चार पूर्वाधार निर्माण तथा प्राविधिक सेवा दिँदै आएकोमा कम्पनीको सेवा र कार्यसम्पादनमाथि कुनै प्रश्न उठ्ने अवस्था आउन नहुने भन्दै उनले सचेत गराए।

मन्त्री तिमिल्सिनाले काममा कुनै समस्या वा कमजोरी देखिए त्यसलाई तत्काल समाधान गर्न तथा पारदर्शिता र कार्यकुशलतालाई उच्च प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्। 

'नेपालमा हुवावेले गरेको काम र सेवामाथि कुनै प्रश्न उठ्नु हुँदैन। यदि कतै समस्या देखिन्छ भने त्यसलाई तत्काल समाधान गर्नुपर्छ। पारदर्शी, जिम्मेवार र सेवा प्रवाहमा कुनै समस्या नदेखिनेगरी काम गर्नुहोला,' सञ्चारमन्त्री तिमिल्सिनाले भने। 

सञ्चारमन्त्रीसँगको भेटवार्तामा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताएका हुन्। उनले नेपाल सरकारले अघि बढाएको डिजिटल नेपालको अभियानलाई प्रभावकारी बनाउन हुवावे विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेकोसमेत बताएका छन्। 

दूरसञ्चार पूर्वाधारको आधुनिकीकरण, स्वच्छ ऊर्जा प्रविधि, आधुनिक डेटा सेन्टर निर्माण, एआई, क्लाउड कम्प्युटिङ तथा डिजिटल पूर्वाधार विकासमा काम गरिरहेको र यी क्षेत्रमा नेपालसँग दीर्घकालीन सहकार्य गर्न चाहेको सन्देश टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्रीलाई दिएको छ। 

सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै देशभर गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्न लागिएको उल्लेख गरे। 

नेपाल टेलिकममा हुवावेको प्राविधिक सहयोग रहेको सन्दर्भमा उपभोक्ताबाट आउने गुनासो समाधानका लागि दुवै पक्षले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए। 

'यदि प्राविधिक वा अन्य कुनै समस्या छन् भने टेलिकम र हुवावे समन्वयात्मक रुपमा तत्काल समाधान गर्नुपर्छ । नागरिकले गुणस्तरीय सेवा पाउने विषयमा सबै गम्भीर हुन जरुरी छ,' सञ्चारमन्त्रीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad