नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सरकारको आलोचना गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मल्लले प्रधानमन्त्रीले राष्ट्रियता र भौगोलिक अखण्डताका विषयमा दिएको अभिव्यक्ति सच्याउँदै संसद्मा माफी माग्नुपर्ने माग गरे। विगत तीन हप्तादेखि प्रतिपक्ष निरन्तर सङ्घर्षमा रहेको उल्लेख गर्दै उनले बहुमतको बलमा प्रतिनिधि सभाको नियमावली पारित गरिएको भन्दै आपत्ति जनाए।
‘प्रधानमन्त्रीज्यूले देशको सीमाना र सार्वभौमसत्ताका विषयमा जुन त्रुटिपूर्ण अभिव्यक्ति दिनुभएको छ, ती शब्दहरू फिर्ता लिइनुपर्छ। उहाँले रोस्टममा उभिएर देश र जनतासँग माफी माग्नुपर्छ र ती अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्छ,’ मल्लले भने।
संविधानको मर्मविपरीत नियमावलीका दफाहरू ल्याइएको र त्यसमा संवादको वातावरण नबनाइएको उनको आरोप थियो। प्रधानमन्त्रीले संसद्को रोस्टमबाट व्यक्त गरेका कतिपय शब्दहरू राष्ट्रियता र भौगोलिक अखण्डताको प्रतिकूल रहेको बताए।
सांसद मल्लले सरकारको कार्यशैली र भाषाप्रति पनि प्रश्न गरे। सरकारले नागरिक, विपक्षी र भुइँमान्छेहरूसँग प्रयोग गर्ने भाषा प्रतिशोधपूर्ण र अमर्यादित बन्दै गएको उनको भनाइ थियो।
सरकारी संयन्त्र र कर्मचारीबाट सर्वसाधारणमाथि भइरहेको व्यवहारले लोकतन्त्र र संवैधानिक व्यवस्था नै जोखिममा पर्नसक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
सांसद मल्लले प्रधानमन्त्री कार्यालयबाट शक्ति र सत्ताको दुरुपयोग भइरहेको बताए। संवैधानिक आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर कसैलाई थुनछेक वा कारबाही गर्न दबाब दिने गरिएको विषयमा ध्यानाकर्षण गराए। सांसद मल्लले प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरीको रूपमा नलिन सरकारलाई चेतावनी दिँदै जनमतको कदर गर्न आग्रह गरे।
Shares

प्रतिक्रिया